लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्र बिक्रीमा आउने, लगानीकर्तालाई के फाइदा ?

Sep 16, 2019 02:04 PM Merolagani

लक्ष्मी बैंक (LBL) ले दीर्घकालीन लगानीको स्रोत जुटाउने उदेश्यका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ऋणपत्र निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ।

बैंकले निष्काशन गर्ने '१०% लक्ष्मी बैंक डिबेञ्चर, २०८६' को अवधि दश वर्ष रहेको छ । यस्तै लगानी गर्ने लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक चयन गरिसकेको छ। ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

दीर्घकालीन लगानी स्रोत जुटाउन तथा बैंकको पूँजी प्रयाप्तता अनुपात बढाएर व्यवसाय विस्तारलाई बढावा दिन बैंकले दश वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकमा यसअघि जारी गरेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ। बैंक तथा वित्तीय संस्थाहरुमा लगनीयोग्य रकम अभाव खड्किएपछि पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र जारी गर्ने तयारीमा रहेका छन्।

बैंकहरुलाई लगानीयोग्य रकम अभाव भएपश्चात केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजी २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

पछिल्लो समयमा लगानीयोग्य रकमको अभाव र पूँजीकोष अनुपातमा दबाब सामना गरेका बैंकहरुले ऋणपत्र निष्काशन तिब्र बनाएका छन् । तर सर्वसाधारण लगानीकर्तामा यसप्रतिको आकर्षण कम हुँदा ऋणपत्र बिक्री हुन नसकेर अन्तिम समयसम्म कुर्दा पनि बिक्री प्रबन्धकहरु निराश छन्।

गत आवको चौथो त्रैमाससम्म बैंकको पूँजीकोष अनुपात १२.४३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यर्सै अवधिमा संकुचन आई ११.३३ प्रतिशतमा सीमित हुन पुगेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुले न्यूनतम पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। पूँजी कोषमा दबाब झेलेको बैंकलाई दुई अर्बको ऋणपत्र निष्काशन पश्चात केही सहज हुनेछ।

  • ऋणपत्रमा लगानी गर्दा लगानीकर्तालाई के फाइदा ?

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी) ले कम जोखिममा ऋणपत्र निष्काशन गर्दा तोकिएको प्रतिशत ब्याज वार्षिक रुपमा प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

ऋणपत्रमा लगानी गर्नेलाई शेयर बजारमा जस्तो शेयरको मूल्यमा घटबढ हुने डर रहँदैन।  कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

यस्तै लगानीकर्ताले खरिद गरेको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने विशेषता रहन्छ। शेयर जस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ यद्यपी हालसम्म शेयर बजारजस्तो ऋणपत्रको खरीदबिक्री सहज रुपमा भने भएको पाँइदैन।

ऋणपत्रको निर्धारित अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।