शेयर बजारमा प्रवेश गर्ने बेला भएकै हो त ?

Sep 20, 2019 10:12 AM Merolagani

- आनन्द कुमार भट्टराई।
अहिले शेयर बजार निरन्तर घट्दै गई निकै तल आईसकेको छ। अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति पछि २ दिनमा ५० अंकले बढेको बजारमा बिहीबार पुनः १८ अंकको करेक्सन भएको छ।

बाली भित्र्याउने बेलामा शेयर बजार घट्नु भनेको किसानले बाली काटी सकेपछि त्यसको उपयुक्त बिक्री मूल्य नपाउनु जस्तै हो। त्यस्तो बेलामा जसरी किसानलाई अत्यधिक पीडा हुन्छ ठिक त्यसै गरि अहिले लगानीकर्ता पीडित छन्। वर्ष भरी पालेर राखेको शेयर बिक्री गर्ने बेला भैसके तापनी मूल्य बढनुको सट्टा घट्दै जानु पक्कै पनि लगानीकर्ताको लागि मात्र नभई सरकारको लागि पनि चिन्ताको विषय हो।

विध्यमान लगानीकर्ताको लागि एकातर्फ यो पीडादायक अवस्था हो भने अर्कोतर्फ नयाँ लगानीकर्ताको लागि बजार प्रवेश गर्ने सुनौलो अवसर पनि हो।

शेयरबाट अर्बपति भएका संसारका अधिकांश लगानीकर्ताहरुले यस्तै अवसरको बेलामा बजार प्रवेश गरेर अथवा लगानी बढाएर नै आफ्नो साम्राज्य बढाएका छन्। चाहे ती अमेरिकाका बारेन बफेट हुन वा भारतका विजय केडिया अथवा राकेश झुनझुनवाला नै किन नहुन् ती सबैले यस्तै अवसरलाई छोप्ने गर्दछन् ।

शेयरको मुल्यमा प्रभाव पार्ने मुख्य तत्व भनेकै मूल्य आम्दानी अनुपात हो । यो अनुपात भनेको रु. १ कमाउनको लागि तपाईले लगानी गर्न चाहेको रकम हो। अर्थात  कुनै कम्पनीको मूल्य आम्दानी अनुपात १२ छ भने तपाईले रु. १ कमाउन त्यस कम्पनीको शेयरमा रु. १२ लगानी गर्नैपर्छ। आम्दानीको प्रत्यक्ष सम्बन्ध कम्पनीको कार्य सम्पादनसंग हुने भएकोले नै प्राय: जसो भ्यालु ईन्भेष्टरले यसलाई नै ध्यानमा राखि लगानी निर्णय लिने गर्दछन् । कम्पनीको अवस्था तथा बजारको प्रवृत्ति हेरी १० देखि १५/२० सम्मको अनुपातलाई यिनले लगानी निर्णयको आधार बनाएका हुन्छन् ।

शेयरमूल्य आंकलन गर्ने अर्को सूचक भनेको मूल्य नेटवर्थ अनुपात हो जसलाई मूल्य बुक भ्यालु अनुपात पनि भनिन्छ । यसले बजार मूल्यलाई बुक भ्यालुसंग तुलना गर्दछ । यस्तो अनुपात १ भन्दा कम हुनु भनेको निकै राम्रो मानिन्छ जसको अर्थ शेयरको बुक भ्यालु भन्दा पनि कम मूल्यमा बजारमा शेयर उपलब्ध हुनु हो अर्थात शेयरको मूल्य अण्डर भ्यालुड भएको अवस्था हो जुन की विरलै आउँछ । संसारभरिका भ्यालु ईन्भेष्टरले सामान्यतया कम्पनीको अवस्था हेरी ३ भन्दा कम अनुपात भएको मुल्यलाई आफ्नो निर्णयको आधार बनाएका हुन्छन् ।  

हाम्रो शेयर बजारका अधिकांश शेयर लगानीकर्ता यो त्यथ्यलाई नबुझी हल्लाको पछि लागि उच्च मूल्य आम्दानी अनुपात भएको शेयरमा लगानी गर्ने र पछि बजार घटदा आफ्नो ब्यवहारलाई दोष दिनुको सट्टा सरकारलाई सराप्न थाल्छन् । अत: लगानीकर्ताले लगानी निर्णय लिनु पूर्व एक पटक यो तथ्यलाई मनन् गरेमा फस्ने सम्भावना निकै कम हुन्छ ।

बजारमा शेयर अण्डर भ्यालुड अथवा डिस्काउन्टेड मूल्यमा विरलै पाईन्छ। शेयर बजारलाई असर गर्ने कतिपय तत्वहरुले जब लगानीकर्ताको मनोभावनामा नकारात्मक असर गर्छ त्यसले मागमा असर गरी मूल्यलाई घट्न सहयोगी भूमिका निर्वाह गर्दछ। यस्तो तत्त्वहरुको प्रभाव लामो समय सम्म रही रहेमा बजारमा निरन्तर गिरावट आई लगानीकर्तामा संत्रासको अवस्था सिर्जना गरि बजारलाई क्र्यासको अवस्था सम्म पनि पुर्याउन सक्छ। त्यसैले सरकार तथा नियामक निकायले समाधान गर्न सक्ने त्यस्ता तत्वहरुको समाधान त्वरित गरिदिनु पर्दछ ।

  • अहिले बजार प्रवेश गर्नु पर्ने उपयुक्त समय हो त ?

विगत केही दिन देखि छापा तथा अनलाईन पत्रिकामा बजार प्रवेश गर्ने उपयुक्त समय भएको भन्दै समाचारहरु बरगेल्ति आईरहेका छन्।

अर्थमन्त्रीले पनि कतिपय अवसरमा यसको सकेंत नगरेका होईनन् । तिर्खाएको घोडालाई पानी भएको ठाउँमा ल्याईदिएको छु, अब घोडाले पानी पिउछ र कुदछ भनेर एउटा मञ्चमा भनेकै हुन् तर लगानीकर्ताले उनको त्यो भनाईमा लुकेको सन्देशलाई नबुझेका हुन वा विश्वास नगरेका हुन बजार त झन् घट्दै पो गयो।

 

विचरा अर्थमन्त्रीले पनि के गरुन् ! त्यसरी प्रष्ट संकेत गर्दा पनि खेलाडीले बजारलाई तल झार्दै सोझा साझा लगानीकर्ताको शेयर सस्तोमै कुम्ल्याउन थालेपछि चिन्तित हुनु स्वभाविक नै हो। अन्तत: सोझा साझा लगानीकर्ता अझै नफसुन भनेर सञ्चयकोषको वार्षिक समारोहमा प्रष्टै रुपमा पूँजी बजारमा प्रवेश गर्ने उपयुक्त समय यही हो र नेपालका सार्वजनिक कोषहरुको रकम पूँजी बजारमा लगानी गर्नुपर्ने भनेर अभिब्यक्ती नै दिनुपर्यो। 

 

अर्थमन्त्रीको उक्त भनाईले लगानीकर्तामा उत्साह थपिन गई २०७६/०५/३१ गते सूचक २६.९१ ले वृद्धि भई ११५०.७४ पुगेको सूचक २०७६/०६/०१ गते २२.६८ को वृद्धि सहित ११७३.४२ पुग्न गयो। सरकारको सकारात्मक भनाईले कस्तो प्रभाव पर्दो रहेछ भन्ने यो एउटा प्रत्यक्ष उदाहरण हो।

  • तर के अर्थमन्त्रीले भन्दैमा आँखा चिम्लेर बजार प्रवेश गर्ने बेला भएकै हो त ?

अर्थमन्त्रीको उक्त भनाई आधारहीन छैन। समग्र अर्थ ब्यवस्था बुझेका विज्ञ अर्थमन्त्रीले कसैले भन्दैमा केही बोली हाल्दैनन्। आफू पूर्ण रुपले विश्वस्त नभई ठूलो जमातलाई असर गर्ने कुरा उनीबाट आउनु कल्पना भन्दा बाहिरको कुरा हो।

दीर्घकालमा राम्रो प्रभाव देखाउने नीतिगत ब्यवस्थाले अल्पकालमा देखाउने नकारात्मक असरको फलस्वरुप नै शेयर बजार तल आउन गएको हो। यस बीचमा खेलाडीको खेललाई निस्तेज गर्ने धेरै ब्यवस्थाहरु कार्यान्वयनमा आईसकेको छ। सरकारबाट भएका शेयर बजारसंग सम्बन्धित प्राय सबै नीतिगत ब्यस्थाले ठूला लगानीकर्तालाई मात्र असर गर्ने हो।

उक्त ब्यस्थाले साना लगानीकर्तालाई कुनै असर गर्दैन। यो कुरा साना तथा सोझा लगानीकर्ताले बुझ्न नसकेर नै शेयर बजार ओरालो लागेको हो।

  • विगतको इतिहासले शेयर बजार प्रवेश गर्ने समय भएको प्रमाणित हुन्छ

२०११ जुन १५ मा शेयर बजार २९२.३१ को न्यूनतम बिन्दुमा थियो भने २०१६ जुलाई २७ मा यो १८८१.४५ को उच्च बिन्दुमा थियो भने २०१९ सेप्टम्बर १६ मा यो ११२३.८३ को बिन्दुमा आएको थियो। अब यि तिनवटै अवस्थाको विश्लेषण गर्दा बजार प्रवेश गर्ने बेला भएको हो की होईन भनेर निर्क्यौल गर्न सकिन्छ।

शेयर बजारको इण्डेक्स एउटा निश्चित दायरामा पेण्डुलम जस्तै तल माथि गरिरहन्छ। जसरी पेण्डुलम बायाँतिर अन्तिम बिन्दुमा पुगेपछि पुन: दाँया तिर उच्चतम बिन्दुमा पुग्छ त्यसैगरी शेयर बजारको सूचक पनि एउटा निश्चित दायरामा तल माथि गरिरहन्छ। फरक यति हो की पेण्डुलम दाँया बायाँ गर्ने एउटा निश्चित अवधि  हुन्छ तर शेयर बजारको सूचक तल माथि हुने निश्चित समय हुँदैन। कहिले यो अल्प अवधिमा हुन्छ भने कहिले लामो समय लिन्छ।

हामी कहाँ नेप्सेले समग्र बजारको मूल्य आम्दानी अनुपात गणना गर्ने गरेको छैन त्यसैले हामीलाई नेप्से न्यूनतम र उच्चतम बिन्दुमा हुँदा औसत मूल्य आम्दानी अनुपात कति थियो भनेर थाहा पाउने कुनै संयन्त्र छैन। तर भारतमा स्टक एक्सचेन्जले आफ्नो एक्सचेन्जमा सूचीकृत सबै कम्पनीको औसत मूल्य आम्दानी अनुपात गणना गरेको छ।

विगत ३०/४० वर्षको इतिहासमा भारतमा स्टक एक्सचेन्जको औसत मूल्य आम्दानी अनुपात १०-११ भन्दा तल र २८-२९ भन्दा माथि गएको इतिहास छैन । त्यसैले त्यहाँ भ्यालु ईन्भेष्टरले औसत मूल्य आम्दानी अनुपात १२-१३ हुँदादेखि नै आफ्नो खरिद बढाउन थाल्छन् किनकी उनीहरुलाई थाहा छ की उक्त अनुपात १०-११ को हाराहारीमा आए तापनी सोचे जस्तो सप्लाई आउदैन। त्यसैगरि उनीहरु औसत मूल्य आम्दानी अनुपात २५-२६ पुगे पछि आफूसंग भएको शेयरको ठूलो हिस्सा बिक्री गरी नगद लिएर सुरक्षित बस्छन् किनकी त्यो बिन्दू भन्दा माथि जुनसुकै बेला पनि बजार वियरिश चक्रमा जान सक्छ।

अब हाम्रो ईतिहासलाई केलाउँदा के देखिन्छ त्यसको विश्लेषण हुनु आवश्यक छ

माथि भनिए जस्तै नेप्सेको न्यूनतम बिन्दु, उच्चतम बिन्दु तथा २०७६ भाद्र ३० गतेको वाणिज्य बैङ्कहरुको औसत मूल्य आम्दानी अनुपातको तुलनात्मक अवस्था निम्न बमोजिम छ

 

 

नेप्से सूचक

कारोवार रकम रु. लाखमा

कारोवार संख्या

कारोबार भएको कित्ता

औसत बुक भ्यालु

मूल्य बुक भ्यालु अनुपात

औसत प्रति शेयर आम्दानी

औसत मूल्य आमदानी अनुपात

कैफियत

२०११/०६/१५

२९२.३१

१९९.७७

८५६

८४४५४

१५४.२९

१.८४

२८.३०

१०.०४

Fear Effect

२०१६/०७/२७

१८८१.४५

२२६६४.९४

१०७९३

४३८८७९८

१५९.४२

७.४०

२९.८५

३९.५६

Greed Effect

२०१९/०९/१६

११२३.८३

३४३९.१८

७५४७

१२४८४०९

१७१.७९

१.८७

२५.२४

१२.७५

Hold Effect

 

 

 

 

 

 

 

 

 

 

 

(नोट: उक्त औसत यो लेखकले बैङ्कहरुको वेबसाईटमा उपलब्ध भएसम्मको सूचनाको आधारमा गणना गरिएको हो। नेप्से २९२.३१ पुगेको दिनको औसत गणनामा सिभिल, सेञ्चरी, जनता, मेगा, नेपाल, प्रभु र सानिमा बैङ्कहरु सूचना उपलब्ध हुन नसकेको कारणले समावेश छैनन्)

नेपाल मात्र होईन विश्वको जुनसुकै देशको शेयर बजारका लगानीकर्ताको ब्यवहार समान हुन्छ। मूलुकको सुशासनको अवस्था तथा सूचनाको उपलब्धताको आधारमा त्यस्तो ब्यवहारको मात्रा केही घटी-बढी हुनसक्छ। अर्थात जब-जब बजार तल जान्छ लगानीकर्तामा त्रासको भावना बढी हाबी हुन्छ । विगतको इतिहासलाई बिर्सेर उसले पुन: पहिले कै गल्ती दोहोर्याउँछ।

त्यसैले त बजार २९२.३१ को न्यूनतम बिन्दुमा हुँदा कारोबार रकम २ करोडभन्दा पनि कम भएको देखिन्छ जबकी उक्त समय मूल्य बुक भ्यालु अनुपात तथा मूल्य आम्दानी अनुपात न्यूनतम बिदुमा थियो। यसो हुनुमा कारोबार गरिरहेका लगानीकर्ताको भावनामा खरीद गरेमा सम्पती गुम्ने त्रासले अत्यधिक प्रभाव पारेको हुन्छ। अर्कोतर्फ शेयर बजारको चरित्र नै भन्नुपर्छ की अपवाद बाहेक नयाँ लगानीकर्ताहरु वियरिश त्यसमाथि पनि सूचक न्यूनतम बिन्दुको आसपास भएको बेला बजार प्रवेश गर्दैनन्।

यसको विपरित जब बजार १८८१.४५ को उच्चतम बिन्दुमा थियो त्यसबेला २ अर्ब २६ करोड भन्दा पनि बढी कारोबार भएको छ। जबकी त्यतिबेलाको मूल्य बुक भ्यालु अनुपात तथा मूल्य आम्दानी अनुपात अति नै उच्च रहेको थियो। तर लोभको अत्यधिक प्रभावमा परेका लगानीकर्ताहरुले खरीद बढाउँदा २ अर्ब भन्दा बढीको कारोबार हुनुलाई शेयर बजारको चक्रको Euphoria Stage (अत्यधिक उत्तेजित तथा खुशीको अवस्था) भनिन्छ। यो अवस्था पछि बजार तल झर्नु अवश्यम्भावी छ। किनकी केही दिनको यस्तो अवस्थामा बुझेका तथा ठूला लगानीकर्तालहरुले आफ्नो शेयर बिक्री गरी बाहिर आईसकेकको कारणले क्रमशः माग कम भई माग र आपूर्तीको बीचको सन्तुलन फराकिलो हुँदै गई मूल्यतल झर्दै बजार वियरिश चक्रमा जान थाल्छ।

माथिको तथ्याङ्कको आधारमा २९२.३१ को बेला र अहिलेको बेलामा धेरै भिन्नता देखिँदैन र यो अवस्थामा बजार प्रवेश गर्नेले कहिले पनि गुमाउनुपर्ने अवस्था आउँदैन। नेप्से सूचक २९२.३१ वा त्यसभन्दा केही माथि भएको बेलामा शेयर खरीद गरेका लगानीकर्ताले अहिले बजार पुनः ११००-१२०० को बीचमा आउँदा समेत गुमाएका छैनन्। यो प्रमाणित इतिहास हो।

त्यसैले समग्र अर्थ ब्यवस्थालाई बुझेका र नजिकबाट नियालिरहेका अर्थ मन्त्रीबाट केही पहिल नै तिर्खाएको घोडाको उदाहरण दिएर लगानीकर्तालाई नआत्तिन र नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्न सकेंत नगरेका होईनन् तर विभिन्न कारणले आत्मविश्वास गुमाईसकेका लगानीकर्ताले त्यो सकेंततर्फ ध्यान नदिँदा खेलाडीबाट पुनः बजार घटाई सोझा सोझा लगानीकर्तालाई फसाउने क्रियाकलाप नथामिएपछि अर्थमन्त्रीबाट कर्मचारी सञ्चयकोषको वार्षिक कार्यक्रममा प्रष्ट रुपमा नै अहिले शेयर बजारमा प्रवेश गर्ने सुनौलो अवसर हो भन्ने निकै सकारात्मक अभिब्यक्ती आएपछि बजारले शुभ सकेंत देखाएको छ।

  • निष्कर्षः

शेयरको मूल्यलाई कम्पनीको आधारभूत सूचक, माग तथा आपूर्ति, मिडिया, समाजिक सञ्जाल, विज्ञका विचारहरु, राजनीतिक तथा समाजिक अवस्था तथा लगानीका वैकल्पिक अवसरको उपलब्धताले प्रभाव पारेको हुन्छ। यी तत्वहरुको सान्दर्भिक सूचना तथा अवस्थाले लगानीकर्ताको मनोभावनालाई प्रभावित पार्दछ र त्यसको प्रतिविम्ब बजारमा प्रदर्शित हुँदा बजार वियरिश वा बुलिश हुन्छ। विश्वका सबै बजारले यसैगरी ब्यवहार गर्ने गर्दछ।

अतः अर्थ मन्त्रीले भनेका भनाईलाई कम्पनीहरुको अहिलेको अवस्था, विगतको शेयर बजारको प्रर्वतिको इतिहास र अगामी दिनको मूलुकको अर्थ ब्यवस्थाको चालको आधारमा विश्लेषण गरेर स्व:निर्णय लिनु उपयुक्त हुन्छ ।

यहाँ वारेन बफेटको यो भनाई "If you don't find a way to make money while you sleep, you will work until you die"  (अर्थात सुतिरहेको बेलामा पनि आम्दानी हुने उपाय पत्ता लगाउन सकेनौं भने तिमीले मृत्यु पर्यन्त काम गरिरहनुपर्छ) मनन् गर्दै सुखद भविष्यको लागि अहिले निर्णय लिने उपयुक्त बेला भएकोमा दुईमत नहोला।

-(लेखक भट्टराई अर्थ मन्त्रालयबाट अवकास प्राप्त उपसचिव हुन् )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।