फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको हो। ऋणपत्र निष्काशनको लागि फाइनान्सले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ।
बोर्डकाे अनुमति पश्चात फाइनान्सले सात वर्ष अवधिका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ। यससँगै ऋणपत्र निष्काशन गर्ने फाइनान्स कम्पनीमा आईसिएफसि फाइनान्स पहिलो बन्ने भएको छ ।
हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी आइसिएफसी फाइनान्सले पहिलो फाइनान्स कम्पनीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको हो।
ऋणपत्र निष्काशनका लागि फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
फाइनान्सले निष्काशन गर्ने ऋणपत्रमा लगानीकर्ताले वार्षिक १२ प्रतिशत ब्याजदर सात वर्षसम्म निरन्तर पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ।
दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा आइसीएफसी फाइनान्सले वाणिज्य बैंकभन्दा धेरै ब्याजदर (वार्षिक १२ प्रतिशत) मा ऋणपत्र निष्काशन गर्ने भएको हो। वाणिज्य बैंकहरुले अहिले अधिकतम १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरिरहेका छन्।