नेप्सेका अनुसार ५ प्रतिशत बोनस समायोजन पश्चात ओरियन्टल होटलको प्रतिकित्ता ४५३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । मंगलबार यहि समायोजन मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
होटल सञ्चालक समितिको १३ गते सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सोही लाभांशका लागि होटलले असोज २८ गते बुकक्लोज गरेको हो।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि असोज २८ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र होटलको लाभांश पाउनेछन्।
होटलले कार्तिक ७ गते लाभांश वितरण गर्न बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।
हाल १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पूँजी पुग्नेछ।
होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ७२ पैसा कायम गरेको थियो।