लघुवित्तले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि लघुवित्त सञ्चालक समितिको असोज २७ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार कार्तिक ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछ। यसअनुसार कात्तिक ६ गते बुधबार (भोली) सम्म कायम रहने लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तले जारी गर्ने उक्त हकप्रद पाउनेछन्।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, सनराइज बैंकको शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन पाउनेछन्।
हकप्रद भर्न पाउने शेयर कित्ताको अनुपात सनराइज क्यापिटल तथा एनएमबि लघुवित्तको आधिकारिक वेवसाइट तथा मेरो शेयरबाट हेर्न सकिने बताइएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि 'इक्रा एनपि आईपिओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ ।
एनएमबि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट असोज १६ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। लघुवित्तको गत पुस २९ गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरेको थियो।
हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।
एनएमबि लघुवित्तको कार्तिक ४ गते सोमबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता एक हजार ७५ रुपैयाँमा कारोबार भएको छ।
एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।