कम्पनीले आइपिओ निष्कासन गर्नुअघि बिक्री नभएको सेयर प्रत्याभूतिकर्ताहरुले खरिद गर्नुपर्ने सम्झौता गरेको हुन्छ। शिवश्रीको सेयर गत बैशाखको अन्त्यतिर मुक्तिनाथ क्यापिटल (साविक भिबोर क्यापिटल) र सिबिआइएल क्यापिटलले प्रत्याभूति गरेको थियो। सम्झौता अनुसार बिक्री नभएको सेयर यी दुई प्रत्याभूतिकर्ताले सकार्नुपर्नेछ।
तर, गत असार मसान्तमा आएको बाढीले आयोजनामा पु¥याएको नोक्सानीबारे कम्पनीले क्यापिटलहरुलाई कुनै औपचारिक जानकारी नदिएको सिबिआइएल क्यापिटलका सिईओ नवराज गिरीले बताए। सोही कारण देवानी संहिता २०७४ को दफा ५३१ को उपदफा २ (ख) अनुसार क्यापिटलहरु बिक्री नभएको सेयर खरिद गर्न बाध्य नहुने उनको भनाइ छ।
‘युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामूखी जस्ता मानविय नियन्त्रणभन्दा बाहिरका परिस्थिति उत्पन्न भइ करारको परिपालना हुन सम्भव नहुने भएमा’ करार बमोजिम काम गर्नु नपर्ने देवानी संहिता २०७४ को दफा ५३१ मा उल्लेख छ।
‘हामीले प्रत्याभूत गर्दा आयोजनाको लागत १६ करोड ५० लाख रहेको थियो। अहिले त्यो बढेर २२ करोड ५० लाख पुगेको छ। सेबोनको प्रावधान अनुसार आयोजनाको लागत २० प्रतिशतभन्दा बढी बढेमा पुनः प्रत्याभूत गराउनु पर्छ। तर, लागत बढेको जानकारी पनि कम्पनीले हामीलाई दिएन,’ गिरीले बताए। कम्पनीले विद्युत प्रधिकरणबाट सर्टिफिकेट पनि हतार हतारमा दशैँ तिहारको समय पारेर निकालेको उनको भनाइ छ। यही कुराहरु उल्लेख गरी क्यापिटलहरुले हाइड्रोपावरलाई पत्राचार गरेको थियो। जसको बोधार्थ नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पनि बुझाइएको थियो।
बोर्डले माग्यो प्रत्याभूतिकर्ताहरुसंग थप स्पष्टीकरण
प्रत्याभूतिकर्ताहरुले बिक्री नभएको सेयर सबै सकार्न नसक्ने जानकारी गराउँदै हाइड्रोपावरलाई पठाएको पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्डमा बुझाएपछि बोर्डले प्रत्याभूतिकर्ताहरुसंग थप स्पष्टीकरण मागेको बोर्डका डेपुटी कार्यकारी निर्देशक रुपेश केसीले बताए।
यसका साथै, आईपिओ निष्कासन गर्नु ७ दिन अघि प्रकाशित गरेको विवरणपत्रमा प्रत्याभूतिकर्ताहरुले कुनै सवाल नउठाएको उनको भनाइ छ। सोही कारण बोर्डले दुबै क्यापिटलहरुलाई थप स्पष्टिकरण दिन पत्राचार गरेको उनले जानकारी दिए।