कृषि विकास बैंकको खुद नाफा दश प्रतिशत बढ्यो, खराब कर्जा र आधार दरमा सुधार

Nov 13, 2019 09:52 AM By: TR Poudyal

कृषि विकास बैंक (ADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो मुनाफा दश प्रतिशतले वृद्धि गरेको छ। व्यवसायको आकारमा सामान्य मात्र बढोत्तरी गरेको बैंकको निक्षेप संकलन लागत बढ्दा उच्च ब्याज खर्चले खुद ब्याज आम्दानी भने घटेको छ।

कृषिले असोज मसान्तसम्म ६० करोड ७३ लाख ४३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशतले अर्थात ५ करोड ५८ लाख रुपैयाँले बढी हो।

बुधबार सार्वजनिक भएको एनएफआरएस प्रतिवेदन अनुसार बैंकले २६ करोड १७ लाख ९५ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। तीन महिनाको अवधिमा बैंकको गरेको नाफाबाट बैधानिक जगेडा कोषमा १२ करोड १४ लाख र नियामकीय जगेडा कोषमा २१ करोड ७८ लाख गरि ३३ करोड ९२ लाख व्यवस्था गर्दा सो वितरण योग्य नाफा कायम भएको हो।

  • निक्षेप संकलन र कर्जा लगानी खर्ब माथि

वित्तीय विवरण अनुसार असोज मसान्तसम्मा बैंकले एक खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरेर एक खर्ब ११ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ। मीक्षा अवधिमा बैंकको निक्षेप तीन अर्ब ७८ करोड तथा कर्जामा ६६ करोड ८५ लाखले सुधार भएको हो।  

सुस्त कर्जा विस्तार र बैंकको लागत ०.२७ बिन्दुले बढ्दा ब्याज खर्च वापत खर्च भएकाले बैंकको खुद ब्याज आम्दानी भने ८ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ। ३ अर्ब ८९ करोड ब्याज आम्दानी गरेको बैंकको ब्याजखर्च २ अर्ब २३ करोड छ।यद्यपी बैंकको सञ्चालन नाफा ११ प्रतिशतले बढेर ८२ करोड पुगेको छ।

केन्द्रीय बैंकले तोकेको न्यूनतम ११ प्रतिशतको पूँजी कोष अनुपातको तुलनामा २०.७७ प्रतिशत रहनु एकदमै सबल छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७१.४२ रहेकाले कर्जा विस्तारका लागि प्रशस्त ठाउँ देखिन्छ।

  • प्रतिशेयर आम्दानी बढ्यो

खुद मुनाफा बढेसँगै कृषि विकास बैंकको वार्षिक प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको प्रथम त्रैमासमा २० रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसाले बढेर २३ रुपैयाँ ३३ पैसा कायम भएको हो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। अग्राधिकार शेयर वापत बैंकले सरकारलाई वार्षिक ६ प्रतिशतका दरले लाभांश बुझाउने गर्दछ।

चुक्ता पूँजीको साढे ३७ प्रतिशत सरकारको अग्राधिकार शेयर रहेको बैंकको शेयरधनी कोष समेत सबल बनेको छ। गत आवको ३ अर्ब ८५ करोड १६ लाख रहेको बैंकको शेयरधनी कोष ४ अर्ब ४५ करोड ८९ लाखमा पुगेको हो।

विगतका वर्षहरुमा समेत २० प्रतिशत धेरै लाभांश वितरण गर्दै आएको यस बैंकले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव नगरेकाले राम्रो लाभांश वितरण गर्नसक्ने आंकलन गर्न सकिन्छ।

कृषि विकास बैंकले जारी गरेको ७ वर्ष अवधिको २ अर्ब ३० करोड बराबरको डिबेञ्चर गत आर्थिक वर्षको अन्त्यमा समयावधि सकिएकाले बैंकले हरेक वर्ष ४६ करोडका दरले व्यवस्था गर्दै आएको तीन अर्ब २२ करोड बराबरको रकम गत आर्थिक वर्षको वितरणयोग्य नाफामा जोडेर लाभांश वितरण गर्नसक्ने क्षमता कृषि विकास बैंकको बनेको अवस्था छ।

दुई लाख ५० हजार भन्दा बढी शेयरधनी रहेको बैंकले बाँड्ने नाफा हरेक जिल्लाका गाउँ-गाउँमा रहेका किसान शेयरधनीमा समेत पुग्ने गर्छ। केन्द्रीय बैंकको निर्देशन अनुरुप पुन: सात वर्ष अवधिको १०.३५ प्रतिशत व्याजदर २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी बैंकको छ। केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत चालु आवभित्र हरेक वाणिज्य बैंकले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।

  • जगेडा कोष मजबुत 

चालु आवको प्रथम त्रैमासमा बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड ६७ लाख रुपैयाँ सञ्चित रहेको छ। पूँजीको ७० प्रतिशत माथिको जगेडा सञ्चिति रहेकाले बैंकलाई शेयरधनीलाई लाभांश वितरणमा कञ्जुस गर्नुपर्ने अवस्था छैन।

यस अवधिमा बैंकको बैंकको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १७.९६ गुणा छ।

  • कर्मचारी खर्चमा कटौती

बैंकमा लामो समय क्रियाशील रहेका अनिल उपाध्यायले नै बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेपछि बैंकको कर्मचारी खर्चमा मितव्ययीता देखिएको छ।  यसअघि उच्च रहने गरेको बैंकको कर्मचारी खर्च घट्नुको साथै निस्क्रिय कर्जा अनुपातमा समेत कमी आएको छ। यो नै बैंकको सफलता हो।

यस अवधिमा बैंकको कर्मचारी खर्च ५ करोड २९ लाखले घटेर ७६ करोड ९१ लाखमा झरेको छ। सयमक्रसँगै बढ्दै जाने कर्मचारी दायित्वलाई नियन्त्रणमा राख्नु व्यवस्थापकीय खुबी नै मान्नुपर्छ। यस्तै बैंकको खराब कर्जा अनुपात पनि ३.९३ बाट घटेर ३.७० प्रतिशतमा सुधार भएको छ।

  • आधार दर घट्यो, स्प्रेडदर उच्च

असोज मसान्तमा बैंकको आधार दर घटेको छ। गत आवको यसै अवधिमा १२.३२ रहेको आधार दर २.१४ बिन्दुले सुधार भई १०.१८ प्रतिशतमा कायम भएको छ।  आधार दरमा नै प्रिमियम जोडेर बैंकहरुले ऋण प्रवाह गर्ने हुँदा यसले ऋणीलाई ब्याजदरमा राहत मिल्ने देखिन्छ। 

सरकारी स्वामित्वको बैंक भएर पनि बैंकको स्प्रेडदर केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बाहिर गएको छ। असोज मसान्तमा बैंकको स्प्रेडदर ५.२६ प्रतिशत रहेको छ। केन्द्रीय बैंक असार मसान्तमा साढे ४ प्रतिशतमा झार्न दिएको निर्देशन अनुसार बैंकको स्प्रेडदर ०.७६ बिन्दुले माथि छ।

स्प्रेडदर सीमाभन्दा धेरै रहेकाले पनि कर्जाको ब्याजदर घटाउनैपर्ने बाध्यता छ। नामले कृषि विकास बैंक भए पनि किसानलाई चर्को ब्याज दरमा कर्जा प्रवाह गरी मारमा पारेको आरोप उसलाई लाग्ने गरेको छ। यद्यपी बैंकका अधिकारीहरु चालु आवदेखि सस्तो निक्षेपको ब्यवस्था गरी कर्जाको ब्याजदर सस्तो बनाउने रणनीति अख्तियार गर्ने तयारीमा लागेको बुझिएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।