वाणिज्य बैंकहरुलाई दोस्रो त्रैमासमा पनि नाफा बढाउन सकस हुने

Nov 19, 2019 07:12 PM Merolagani

हाल सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। बैंकहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार औसत खुद नाफा वृद्धिदर ६.२५ प्रतिशत मात्र रहेको छ। तीन महिनामा २८ बैंकले १६ अर्ब १७ करोड खुद नाफा कमाएका छन्। 

बैंकहरुको नाफामा आएको यो वृद्धिदर अघिल्ला आर्थिक वर्षहरुको तुलनामा निकै कम हो। गत आर्थिक वर्षमा बैंकहरुले आफ्नो खुद नाफा २५ प्रतिशतले बढाएर १५ अर्ब २२ करोड २१ लाख रुपैयाँ आर्जन गरेका थिए।

बैंकहरुको बढ्दो प्रतिस्पर्धाका कारण खुद नाफा वृद्धिदर घटेको बैंकरहरु बताउँछन्। यसका साथै हरेक स्थानीय तहमा शाखा विस्तार गर्नु परेको कारण बैंकहरुको सञ्चालन खर्च बढेको उनीहरुको भनाई छ। यसले नाफामा दबाब पुगेको हो।

पछिल्लो समय खुलेका बैंकहरुको प्रतिशाखा नोक्सानी बढ्दा पनि सञ्चालन खर्चको भारले बैंकहरुको मुनाफामा प्रभावित भएको छ।बैंकहरुबीच बढ्दो अवस्थ प्रतिस्पर्धा र सञ्चालन खर्चले आगामी त्रैमासमा पनि बैंकहरुको नाफा वृद्धिदर घट्न सक्ने बैंकरहरु बताउँछन्।

‘पहिलोको जस्तो बिजिनेस ग्रोथ छैन। शाखा विस्तार र प्रविधिले गरेर बैंकहरुको सञ्चालन खर्च बढेको छ,’ नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए। ‘बैंकहरुले स्प्रेडदर पनि घटाएका छन्। यसले पनि नाफा वृद्धिदर साँघुरिएको हो,’ उनले भने।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेडदर ४.४ प्रतिशत कायम गर्न निर्देशन दिएको थियो। सो दर कायम गर्न बैंकहरुले पहिलो त्रैमासदेखि नै स्प्रेड घटाउन सुरु गरेका छन्। आगामी दिनमा यो दर झन् साँघुरिने भएकोले यसले बैंकहरुलाई नाफा आर्जन गर्न सकस हुने देखिन्छ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार केही सीमित बाहेक अन्य बैंकहरुको स्प्रेडदर ५ प्रतिशतभन्दा बढी नै देखिन्छ। राष्ट्र बैंकले स्प्रेडदर गणना विधि पनि परिवर्तन गरेको छ। नयाँ फर्मूला अनुसार अधिकांश बैंकहरुको स्प्रेडदर सीमा भित्र आइसकेको सीईओ ढुङ्गानाले बताए।

बैंकहरुले चालु आवको पहिलो त्रैमाससम्ममा निक्षेपको तुलनामा धेरै कर्जा प्रवाह गरेका छन्। यसले आगामी त्रैमासमा वित्तीय क्षेत्रमा लगानी योग्य पूँजीको समस्या नआउला भन्न सकिन्न। यसो भएमा बैंकहरुको आम्दानी घट्न सक्ने देखिन्छ।

आक्रमक कर्जा विस्तारका कारण पहिलो त्रैमाससम्ममा बैंकहरुको निष्क्रिय कर्जा उल्लेख्य बढेको छ। वित्तीय विवरण अनुसार १ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने बैंकहरुको ९ वटा मात्र छन्। 

निष्क्रिय कर्जा बढेसंगै बैंकहरुले त्यसको व्यवस्था बापत रकम छुट्याउनु पर्छ। यसले पनि बैंकको नाफा घट्न दबाब पुगेको छ। केही बैंकहरुले त अझ प्रावधानमा कम रकम राखेर पनि नाफा बढाएका छन्।

बैंकहरुमा हरेक वर्ष आर्थिक वर्षको प्रथम त्रैमासको समाप्तीसँगै लगानीयोग्य तरलता रकमको अभाव हुँदै आइरहेको छ। असार यता करिब ९० अर्ब निक्षेप बढाएका बैंकहरुले एक खर्ब ३० अर्ब हाराहारीमा कर्जा प्रवाह गरिसकेका छन्। गत आवको पूँजीगत खर्चबाट प्राप्त भएको निक्षेप रकम पनि यस त्रैमासमा सकिएकाले बैंकहरुलाई कर्जा परिचालनमा बन्देज लाग्ने अवस्थामा पुगेका छन्।

कर्जा प्रवाह घट्दा त्यसबाट प्राप्त हुने आम्दानी पनि घट्ने हुन्छ। अहिले धेरै कर्जा निक्षेप अनुपात केही खुकुलो रहेपनि कतिपयको भने सीमा नजिक पुगिसकेको छ। राष्ट्र बैंकले पछिल्लो समय एनएफआरएस प्रणाली लागू गरेपछि प्रथम त्रैमासमा प्रवाह गरिएको ऋणको ब्याज आम्दानी प्रथम त्रैमासमा नै ब्याज आम्दानीमा लेखाङ्कन गरिसेकको हुन्छ। त्यसैले पहिलाजस्तो ब्याज प्राप्त भएपछि जनाउन नपाउने हुनाले पहिलो त्रैमासको ब्याज आम्दानी दोस्रो त्रैमासमा आउँदैन।

कर्जा प्रवाहको आकार घट्दा ब्याज आम्दानी घट्न गई दोस्रो त्रैमासमा पनि बैंकहरुलाई मुनाफामा वृद्धि गर्न चुनौति नै देखिन्छ।

सरकारको खर्च गर्ने तरिका गत वर्षहरुमा जस्तै छ । प्रथम चौमासिक अवधिमा मुस्किलले  कूल १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेटको २२ प्रतिशत अर्थात २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगत खर्चको अवस्था अझ निराशाजनक ( ६ प्रतिशत) रहेको छ। सरकारी खर्च बढ्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकम अभाव प्रत्येक वर्ष हुँदै आइरहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।