यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, घोडीघोडा लघुवित्त, नेपाल हाइड्रो डेभलोपर्स र ङादी ग्रुप पावरको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेका हो।
साल्ट ट्रेडिङ्ग र घोडीघोडा लघुवित्तको शेयरमूल्यमा पछिल्ला केही दिनदेखि नै सकारात्मक सर्किट लागिरहेको थियो। नेपाल हाइड्रो र ङादी ग्रुपले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेसंगै कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव परेको हो।
यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.९३ प्रतिशत घटेको छ। त्यसैगरी, अरुण काबेलीको ४.८ प्रतिशत, अरुण भ्यालीको ४.०८, आँखुखोला जलविद्युतको ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकको २.९ प्रतिशत घटेको छ।
मङ्गलबार नेप्से परिसूचक १.१४ अंक घटेर एक हजार १२९.९९ विन्दुमा पुगेको छ। नेप्से घटेपनि यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.३१ अंक बढेको छ। ठूला कम्पनीहरुको शेयरमूल्य बढेसंगै यो इन्डेक्स बढेको हो।
यस दिन १६३ कम्पनीको ४ हजार २४७ पटकको कारोबारमा २५ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको १० लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनएमबि बैंक नै अग्रस्थानमा रहेको छ। सो बैंकको सर्वसाधारण शेयर ३ करोड र संस्थापक शेयर २ करोडभन्दा बढीको कारोबार भएको छ। नेपाल बैंक, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर, नबिल बैंक, सोल्टी होटल र हिमालयन डिष्टिलरीको कारोबार रकम यस दिन १ करोड नाघेको छ।
यस दिन पनि व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.५१ प्रतिशत बढेको छ। होटल उपसमूहको परिसूचक यस दिन २.८५, अन्यको ०.२६, म्युचुअल फन्डको ०.२३, विकास बैंकको ०.१३ र उत्पादनको ०.०१ प्रतिशत बढेको छ।
यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.९६, वित्तको ०.५१, जीवन बीमाको ०.५, जलविद्युतको ०.१८, बैंकिङ्गको ०.१६ र लघुवित्तको ०.०६ प्रतिशत घटेको छ।