सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स निरन्तर आफुलाई अब्बल साबित गर्दै लगिरहेको छ भने युनाईटेड इन्स्योरेन्स तुलनात्मक रुपमा सबैभन्दा कमजोर देखिएको छ।
यस अवधिमा बीमा समितिको निर्देशन अनुसार १० कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउने कम्पनीरुमा दश कम्पनीहरु रहेका छन्। पाँचको अझै पूँजी कायम गर्न बाँकी छ।
एक अर्ब चुक्ता पूँजी पुर्याउने कम्पनीरुमा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट र प्रभु इन्स्योरेन्सले पुर्याएका हुन् ।
लुम्बिनी जनरल, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बाँकी छ।
नेको इन्स्योरेन्सको चुक्त पूँजी सबैभन्दा धेरै १ अर्ब ३१ करोड रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड रुपैयाँ मात्रै छ।
- खुद बीमा शुल्क र खुद नाफामा शिखर इन्स्योरेन्स अगाडि
१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमा शुल्क आर्जन गरी धेरै नाफा कमाउन शिखर इन्स्योरेन्स सफल भएको हो।
यस अवधिमा इन्स्योरेन्सले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै नेको इन्स्योरेन्सले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरी ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसैगरी ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
हिमालयन जनरल इन्स्योरेन्सले सबै भन्दा कम ७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। युनाइटेड इन्स्योरेन्सको खुद नाफा भने सबै भन्दा कम एक करोड २८ लाख रुपेयाँ रहेको छ। यस अवधिमा युनाइटेडले ८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो।
- जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी बलियो
सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम सञ्चित छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ४९ करोड १८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।
शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख र बीमा कोषमा एक अर्ब ११ करोड ८० लाख रुपैयाँ सञ्चित छ। यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड र बीमा कोषमा ६४ करोड ५१ लाख रुपैयाँ छ ।
युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम ६ करोड ६९ लाख रुपैयाँ सञ्चित छ भने एभरेष्ट इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। एभरेष्ट इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
- प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि
राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९१ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ एक हजार ३४ रुपैयाँ ५३ पैसा कायम छ।
यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९२ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९७ पैसा रहेको छ।
सबैभन्दा कम प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ एभरेष्ट इन्स्योरेन्सको रहेको छ। एभरेष्टको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ८० पैसा रहेको छ।
राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ८८.३१ गुणा बढी छ भने नेपाल इन्स्योरेन्सको सबैभन्दा कम १३.१७ गुणा बढी छ।