धितोपत्र बोर्डले मंसिर १८ गते ब्रोकरहरुलाई पत्राचार गरेर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यबिधिको प्रतिलिपि ७ दिनभित्र अनिवार्य रूपमा बोर्डमा बुझाउन पनि निर्देशन दिएको छ ।
याे निर्देशन अनुसार बोर्डले लगानीकर्तामाथि थप निगरानी गर्न खोजेको आरोप लगानीकर्ताकाे छ । एक लगानीकर्ताले मेराे लगानीलाई भने, बाेर्डकाे याे पत्रले लगानीकर्तालाई त्रसित बनाएकाे छ । मनाेवल कमजाेर अवस्थामा रहेकाे समयमा सबै आर्थिक गतिविधिमा निगरानी हुँदा लगानीकर्तामा त्रास आउन सक्छ ।
नेपाल स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले बोर्डको यो नियमित प्रकृया मात्र भएको मेरोलगानीलाई बताए । उनले यसभन्दा पहिले पनि दोस्रो बजारमार्फत १० लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबारको विवरण बुझाउन पर्ने व्यवस्था रहेको स्मरण गराए ।
अध्यक्ष रानाभाटले भने, सबै आर्थिक कारोबार गराउने निकायहरुलाई आफूले गर्ने कार्य अझ व्यवस्थित बनाउन मात्र बाेर्डले निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धिकरण धितोपत्र बजारमा मात्र नभई समग्र आर्थिक कारोबार गर्ने क्षेत्रका लागि भएकाले शेयर बजारका लगानीकर्ताहरुलाइ नआत्तिन पनि रानाभाटले आग्रह गरे ।
पत्रमा लगानीकर्ताकाे जाेखिम पहिचान गरी साे अभिलेख बाेर्डमा पठाउने बिषयलाइ ब्राेकरहरूले गंभीरतापूर्वक लिएका छन् । बाेर्डबाट गाेपनियता भंग भएकाे अवस्थाका यस प्रावधानले समस्या ल्याउने उनीहरूकाे भनाई छ ।
ब्राेकरहरूले बाेर्डमा बुझाएकाे नाफाघाटा विवरण केही पहिले बाेर्डबाटै मिडियामा सार्वजनिक भएकाे उनीहरूकाे आशंकाले बाेर्ड कर्मचारीकाे विश्वशनियतामाथि प्रश्न उब्जाएकाे छ ।
केही वर्षदेखि शेयर बजार लगातार ओरालो गतिमा छ । शेयर बजारमा लगानीयोग्य रकमको अभाव भएकाले बजार निरन्तर घटेको लगानीकर्ताहरु बताउँछन् । शेयर बजारमा कालाे धनकाे प्रयाेगबारे धेरै चर्चा हुने गरेकाे र यही आशंकामा परिवन्दमा परिने भयले आँट भएका लगानिकर्ता पनि पछि सर्ने गरेकाे बजारमा काराेबार गरिरहेका केही भुक्तभाेगी लगानीकर्ताकाे ठम्याई छ ।