रुपन्देहीको बुटवल उप महानगरपालिका ६ मा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गाले नेपाल राष्ट्र बैंकबाट गत मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गर्ने इजाजत पाएको थियो।
बैंकले यसअघि गत असोज २७ गतेदेखि सिद्धार्थनगर स्थित पूर्णिमा विकास बैंक र नेपालगञ्ज स्थित भार्गव विकास बैंकलाई एक्वीजिशन गरेर एकीकृत कारोबार थालेको थियो। यसअघि शाइनले २०७३ जेठमा प्यूठान जिल्लामा कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो।
वि.स.२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भइ १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो।
पूर्णिमा र भार्गव गाभेपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ९० करोड, कर्जा लगानी २४ अर्ब १७ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ८० हजार, शाखा कार्यालय ७० पुगेको छ भने १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ।
राष्ट्रियस्तरमा स्तरोन्नती भएसँगै बैंकले काठमाडौं र पोखरमा शाखा विस्तार गर्ने भएको छ । राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गरेसँगै बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजना समेत अघि सारेको छ। उक्त प्रस्ताव बैंकले आगामी साधारण सभामा लग्ने जनाएको छ।