झण्डै साढे ३ महिना अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको बताएपनि हालसम्म पनि सो प्रकृयाले मूर्त रुप पाउनेगरि प्रकृया अगाडि बढ्न सकेको छैन।
नेपाल टेलिकमले शेयर बिक्री गर्नको लागि आवश्यक तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएपनि मन्त्रालयबाट नै कुनै प्रतिक्रिया नआएको हो।
टेलिकमको प्रवक्ता प्रतिभा बैध्यले उनले शेयर बिक्रीबारे के गर्ने भन्ने विषयमा तथ्याङ्क मन्त्रालयमा पठाएपनि सो विषय अहिले मन्त्रालयमा नै विचाराधीन अवस्थामा रहेकाले यसबारे थप जानकारी नभएको बताइन्।
यता मन्त्रालयमा प्रवक्ता ऋषिराम तिवारीले पनि यस विषयमा आफुलाई जानकारी नभएको प्रतिकृया दिएका छन्। उनले मेरोलगानीसँग कुरा गर्दै भने, निर्णय भएमात्र म बताउन सक्छु। यस विषयमा मलाइ जानकारी भएन।
हाल कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर नेपाल सरकारको स्वामित्वमा रहेको छ भने ८.४८ प्रतिशत शेयर सर्वसाधारण र कर्मचारीको रहेको छ। शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ।
टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने कि विदेशी रणनीतिक साझेदार भित्र्याउने भन्ने विषय धेरै अघिदेखि बहस हुँदै आएका विषय हुन्। यसैबीच सञ्चार मन्त्रीले केही समय पहिले एक कार्यक्रममा सर्वसाधारणमा थप शेयर जारी गर्ने प्रतिकृया दिएपछि टेलिकममा विदेशी रणनीतिक साझेदार भित्र्याउने भन्दा सर्वसाधारण मै शेयर बेच्ने याेजना रहेकाे देखिन्छ।
सर्वसाधारणको कूल एक करोड २७ लाख कित्ता शेयर रहेको कम्पनीको धितोपत्र बजारमा कूल १५ करोड कित्ता शेयर सूचीकृत छ। कूल १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी बजार घटेको अवस्थामा समेत बजार पूँजीकरणमा (करिब एक खर्बको) शीर्ष स्थानमा रहँदै आएको छ।
हाल १ खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको यस कम्पनीको शेयर मूल्यमा थोरै फेरबदली हुँदा नेप्से सूचकमा ठूलो उतार चढाव देखिन्छ। अहिले फेरि १५ करोड कित्ताको लगभग २६ प्रतिशतले सर्वसाधारणमा शेयर बिक्री गर्ने हो भने झण्डै ४ करोड कित्ता शेयरको आपूर्ति दोस्रो बजारमा थपिनेछ।
- यसअघि कहिले बिक्री गरेको थियो शेयर ?
टेलिकमले यसअघि २०६४ फागुनमा आम-सर्वसाधारणमा शेयर बिक्री गरेको थियो। सो पश्चात अहिले फेरि सर्वसाधारणमा शेयर जारी गर्ने कुरा बाहिर आएको हो।
अघिल्लो पटक टेलिकमले न्यूनतम ६०१ रुपैयाँ वा सोभन्दा माथि मूल्य राखेर बोलकबोल प्रक्रियाबाट १० प्रतिशत शेयर सर्वसाधारणका लागि खरीद गर्न सूचना निकाल्दा निष्काशनको ४.४४ प्रतिशत शेयर मात्र बिक्री भएको थियो। नेपाल टेलिकमका कर्मचारीहरुले लागि विनियमावलीमा व्यवस्था भए बमोजिम ५ प्रतिशत निष्काशन गरेकोमा ४.०४ प्रतिशत शेयर मात्र खरीद गरेका थिए।
टेलिकमले अब शेयर निष्कााशन गर्दा कति मूल्यमा निष्काशन गर्ला भन्ने सबैको चासोको विषय बनेको छ।
२०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भएको कम्पनी २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि मात्र कम्पनीलाई नेपाल टेलिकम भन्न थालिएको थियो।
चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको जगेडा कोषमा ८९ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।