नेपालमा चिनियाँ लगानीकाे आक्रामक प्रवेश , पाँच महिनामा साढे २६ अर्बको लगानी प्रतिबद्धता

Dec 15, 2019 01:54 PM Merolagani

नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता बढ्दै गएको देखिएको छ। त्यसमा पनि चिनियाँ लगानी अप्रत्याशित रुपमा बढेको छ। 

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा साढे १५ अर्ब रुपैयाँभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा चीनबाट १०७ वटा परियोजनामा १५ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यसबाट कूल ६ हजार ३०८ जनाले रोजगारी पाउनेछन्।

यस अवधिमा कुल साढे २६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा त्यसमा चीनको मात्रै झण्डै ५९ प्रतिशत हिस्सा रहेको छ।

यस अवधिमा १५ वटा देशबाट १३६ वटा परियोजनामा २६ अर्ब ४७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। गत आर्थिक वर्षको यसै अवधिमा कुल २६ वटा देशबाट १७३ वटा परियोजनामा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा यस वर्ष झण्डै तीन गुणा लगानी प्रतिबद्धता आएको देखिएको छ।

  • भारतबाट आउने लगानी घट्दै

पछिल्लो समय भारतबाट आउने लगानी भने घट्दै गएको छ। गत वर्षको पाँच महिनामा कुल २५ वटा परियोजनामा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको भारतबाट चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ। यो कुल ८ वटा परियोजनामा आएको लगानी हो।

गत वर्षको तुलनामा यस वर्ष भारतबाट आउने लगानीको प्रतिबद्धता झण्डै आधा कम भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास देखि नै भारतबाट आउने लगानीको प्रतिबद्धता कम हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतबाट २० करोड रुपैयाँको मात्र लगानी प्रतिबद्धता आएको थियो।

एउटा छिमेकी राष्ट्र चीनबाट आउने लगानीको प्रतिबद्धता अप्रत्याशित रुपले बढ्दै जाँदा अर्को छिमेकी राष्ट्र भारतको लगानी भने घट्दै गएको छ। 

  • कुन देशबाट कति लगानी?

चालु आर्थिक वर्षको पाँच महिनामा कुल साढे २६ अर्ब रुपैयाँ बाराबरको लगानी प्रतिबद्धता भित्रिएकोमा सबैभन्दा धेरै हिस्सा  चीनको रहेको छ।

यस अवधिमा युएईबाट एक परियोजनामा ४ अर्ब ७ करोड ३९ लाख रुपैयाँ र युकेबाट ४ परियोजनामा १ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

त्यसैगरी क्यानडाबाट एक परियोजनामा ५० करोड रुपैयाँ, अरबबाट ४८ करोड रुपैयाँ, फ्रान्सबाट २५ करोड रुपैयाँ, साउथ कोरियाबाट २० करोड रुपैयाँ, पोल्यान्ड र बंगलादेश १५\ १५ करोड रुपैयाँ, पाकिस्तानबाट दुई परियोजनामा १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

जापानबाट २ परियोजनामा १० करोड १० लाख रुपैयाँ, अस्ट्रलिया र  हङकङबाट ५\५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

  • होटलमा लगानी बढ्दा कषि क्षेत्रमा अत्यन्त न्यून लगानी

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा पर्यटनमुलक क्षेत्रका होटलहरुमा लगानीको प्रतिबद्धता बढि रहेपनि कृषि तथा वन्यजन्तु क्षेत्रका परियोजनामा भने निकै कम लगानीको प्रतिबद्धता आएको देखिएको छ ।

यस अवधिमा कुल १३६ वटा परियोजनामा लगानी प्रतिबद्धता आएकोमा ५२ वटा परियोजना पर्यटन क्षेत्रका रहेका छन्। रकमको आधारमा पनि यही क्षेत्रमा बढी लगानीको प्रतिबद्धता आएको छ।

तर कृषि तथा वन्यजन्तु क्षेत्रका भने ३ वटा परियोजनामा मात्रै लगानी प्रतिबद्धता आएको देखिन्छ त्यो पनि निकै कम रकमको। यस अवधिमा कृषि तथा वन्यजन्तु क्षेत्रमा कुल लगानीको १.३१ प्रतिशत मात्र लगानीको प्रतिबद्धता आएको विभागको तथ्याँकले देखाँउछ।

पर्यटन क्षेत्रका उक्त परियोजनामा कुल ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ जुन कुल लगानीको २८.४० प्रतिशत हो। पाँच महिनामा चीनबाट मात्रै पर्यटन क्षेत्रका ४५ परियोजनामा ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

गत वर्षको यसै अवधिमा पर्यटन क्षेत्रमा कुल ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो भने कषि तथा बन्यजन्तु क्षेत्रमा ६ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।

यस्तै सेवा क्षेत्रका ३७ परियोजनामा ५ अर्ब ९९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सूचना प्रविधिका २३ परियाेजनमा ५ अर्ब ३० करोड रुपैयाँ, उर्जाका ४ परियोजनामा ४ अर्ब ९२ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रका १७ परियोजनामा २ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपश्चात नेपालमा लगानीगर्न चाहाने वैदेशिक लगानीकर्तालाई केहि सहज भएको छ। केन्द्रले लगानी स्वीकृत देखि लाभांश तथा लगानी फिर्ताको लागि समेत एकै ठाँउबाट स्वकिृत प्रदान गर्दै आएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।