यी तीनवटै कम्पनीहरुले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि पुस गते सोमबार बुकक्लोज गर्नेछ। यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन पाउनेछन्।
स्वाबलम्बन लघुवित्त (SWBBL) ले पुस २० गते एलिस रिसेप्सन, गैह्रीधारामा साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा एलिस रिसेप्सन, गैह्रीधारामा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लघुवित्तको सञ्चालक समितिले घोषणा गरेको कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र कर सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
हाल स्वावलम्बन लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख रहेको छ। २६ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७९ करोड २३ लाख पुग्नेछ।
मंसिर २९ गते आईतबार लघुवित्तको शेयर दोस्रो बजारमा एक हजार ४२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेपाल एग्रो (NAGRO) ले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस १२ गते सिटी स्क्वायर प्रा।लि।, न्यूरोड, पोखरामा चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभामा लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि १२ गतेसम्म शेयरधनी दाखिला खारेज बन्द गर्ने भएको छ। मंसिर ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेको शेयरधनीहरुले सभामा भाग लिन तथा बोनस शेयर प्राप्त गर्न सक्नेछन्।
कास्की जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र पर्बतमा केन्द्रीय कार्यालय रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका बीच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । तर, साधारण सभामा भने सो प्रस्ताव समावेश गरिएको छैन।
मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेप्सेले असोज २३ गते बिहीबारदेखि लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो
हाल नेपाल एग्रो लघुवित्तको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत वर्षको कमाइबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनसपश्चात पूँजी ५ करोड ७१ लख रुपैयाँ हाराहारी पुग्नेछ भने नेष्डो लघुवित्त हकप्रदपश्चात पूँजी १७ करोड रुपैयाँ पुग्नेछ। मर्जरपश्चात चुक्तापुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय कायम हुनेछ ।
संस्थापक तथा सर्वसाधारणको शेयर अनुपात ७०ः३० प्रतिशत कायम राख्ने सहमती वमोजिम नेपाल एग्रोको सर्वसाधारणमा शेयर जारी गरीसकेकाले उल्लेखित अनुपात अनुसारको रकम मात्र पुनः एफपिओ जारी गरी गर्ने र एकिकृत कारोवार शुरु गरे पश्चात प्रचलित कानूनी प्रक्रिया पुरा गरी सर्वसाधारणवाट शेयर संकलन गरे पश्चात संस्थाको कुल चुक्ता पुँजी ३० करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पु¥याउने संझौतापत्रमा उल्लेख छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले पनि लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि पुस १ गतेदेखि बुकक्लोज गर्ने भएको छ। फाइनान्सले लाभांश वितरण र मर्जरसम्बन्धि प्रस्ताव गरेर कम्पनीको पच्चिसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। फाइनान्सले पौष ११ गते आम्रपाली बेक्वेंट भाटभटेनी काठमाण्डौमा विहान १० बजे साधारणसभा आह्वान गरेको हो।
साधारणसभामा फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ।
हाल ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस पश्चात पूँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ।
त्यसैगरी, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।
मंसिर २९ गते आइतबार फाइनान्सको शेयर दोस्रो बजारमा प्रतिकित्ता १५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।