सोमबार १६६ कम्पनीका १३ लाख ७१ हजार १३४ कित्ता शेयर ४० करोड ७९ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड ८१ लाख रुपैयाँले घटेको हो। आइतबार ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबारमा आएका सबै उपसमूहको सूचक राताम्मे बन्दा नेप्से सूचक १३.७५ अंकले घटेर ११५४.११ बिन्दुमा बन्द भएको छ। यसदिन एनएमबि बैंकको उच्च कारोबार भएको छ। बैंकको एक लाख १३ हजार ५६४ कित्ता शेयर ४ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् ।
यसैगरि स्वावलम्बन लघुवित्तको २ करोड ३४ लाख ९५ हजार, एनआईसी एशिया बैंक १ करोड ९५ लाख, नेपाल बैंक १ करोड ४९ लाख, बेष्ट फाइनान्सको संस्थापक शेयरको कारोबार एक करोड ३६ लाख तथा नेपाल लाइफको एक करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो।
सोमबारको बजारमा निर्जीबन बीमा उपसूचक सबैभन्दा धेरै ३.६८ प्रतिशतले घट्दा जीबन बीमा र अन्यको सूचक पनि २ प्रतिशत धेरैले ओरालो लागेका छन्। जलविद्युतको सूचक पनि साढे एक प्रतिशतले घटेको छ।
- आईपीओ सस्तो शेयरमूल्य रहेको कम्पनीको शेयरको माग बढ्यो
दोहोरो अंकले घटेको बजारमा अंकितमूल्यभन्दा तल झरेका कम्पनीको शेयरको माग देखियो। यसदिन दिब्यश्वरी हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यसअघि सबैभन्दा कम शेयरमूल्य रहेको यस कम्पनीको शेयर ५.४५ प्रतिशत बढेर ५८ रुपैयाँमा पुगेको छ भने युनियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि ५ प्रतिशतले बढेर ६३ रुपैयाँ कायम भयो। सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढ्यो
त्यसैगरि सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, अरुण काबेली पावर, देव विकास बैंक, बेष्ट फाइनान्स, एनआईबिएल समृद्धि फण्ड र सानिमा इक्वीटी फण्डको इकाईमूल्य २ प्रतिशत धेरैले वृद्धि भएको छ ।
उता गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने भएपछि हिमालयन पावर पार्टनरको शेयरमूल्य सोमबार सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ९.४९ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर १४३ मा झरेको छ। महुली समाुदायिक लघुवित्त र आइतबार शेयरमूलय सर्किट लागेको राष्ट्रिय बीमा कम्पनीको शेयर ६ प्रतिशत धेरैले घटेको छ।
त्यसैगरि नेपाल हाइड्रो डेभलोपर र राष्ट्रिय बीमा कम्पनीको संस्थापक ५ प्रतिशत धेरैले घट्दा माउन्टेन हाइड्रो, प्रुडेन्सियल इन्स्योरेन्स, एशियन लाईफ, गुडबिल फाइनान्स, र आधिँखोला लघुवित्तका शेयरधनीले सोमबार बजारबाट ४ प्रतिशत बढीले गुमाएका छन् ।