सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यपिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम प्रभु क्यापिटल हुनेछ। मर्जर प्रक्रिया पूरा भएपछि कम्पनीको एकीकृत चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
प्रभु क्यापिटल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापकको लागि अनुमती प्राप्त प्रभु बैंकको सहयक कम्पनी हो भने समृद्धि क्यापिटल लगानी व्यवस्थापनको लागि अनुमती पाएको कम्पनी हो ।
बैंक तथा वित्तीय संस्थाहरुलाई नियामक निकायले मर्जर नीतिबाट मर्जरमा लगेपनि पूँजी बजार सम्बन्धी काम गर्ने मर्चेन्ट बैंकिङ कम्पनीहरु स्वतःस्फूर्त रुपमा मर्जरमा गएका हुन्।
मर्चेन्ट बैंकरहरुबीचको मर्जरले चुक्ता पूँजीमा सबल त बन्छन् नै कार्यक्षेत्र विस्तार, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, परार्मश सेवा, कोष सञ्चालन तथा सम्पति व्यवस्थापन जस्ता सेवा सुविधा सेवाग्राहीलाई उपलब्ध गराउन सहज हुनेछ।
यसअघि मर्चेन्ट बैंकरहरुमा माउ कम्पनीहरु एक भएपछि मर्जर तथा प्राप्तीको क्रम चलिरहेकोमा प्रभु र समृद्धि क्यापिटल बीचको मर्जर सो मर्जरभन्दा फरक प्रकृतिको रहेको छ। दुई फरक संस्थाबीच एक आपसमा भएको मर्जर सम्झौताले धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्गको अनुमति लिएका अन्य कम्पनीहरुलाई पनि पूँजी, सेवा तथा अन्य विषयहरुमा पनि प्रतिप्रस्र्धामा उत्रन सक्छ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसँगै एनआईबिएल क्यापिटल र एस क्यापिटल एक भएर एनआईबिएल एस क्यापिटलको नामबाट कारोबार गर्दै आइरहेका छन्।यसैगरि ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरिपछि ग्लोबल आइएमई क्यापिटलले रिलायबल क्यापिटललाई प्राप्ती गरि एक भैसकेका छन्।
हालै जनता बैंकसँग मर्जर गरि एकीकृत कारोबार थालेको ग्लोबल आइएमई बैंकको सहयाक कम्पनी ग्लोबल आईएमई क्यापिटल र जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलबीच पनि एकता हुनेछ।
मर्चेन्ट बैंकहरुबीच एकपछि अर्को गर्दै भएको मर्जर तथा प्राप्ती हुने प्रकृयाले कम पूँजी र सीमित सेवा प्रदान गर्न अनुमति पाएका मर्चेन्ट बैंकरबीच मर्जर हुने प्रेरित गर्ने देखिन्छ।