बैंकले कार्यक्रम अन्तर्गत नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैयाँ, नेपाल डेरीलाई १८ लाख रुपैयाँ, पन्चकन्या स्टिललाई १३ लाख ९९ हजार रुपैयाँ, प्रिमियर वायर्सलाई ५ लाख ५० हजार रुपैयाँ र बागमती आयल इन्डष्ट्रिजलाई एक लाख ६५ हजार रुपैयाँ मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकोले प्रदान गरेको हो ।
बैंकले कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बिहिबार एक समारोहका बिच हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘उर्जा बचत कार्यक्रम नेपाल’ आयोजना संचालन गरेको हो।
आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड रुपैयाँ सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने व्यवस्था छ।