बीमा कम्पनीहरुबाट दाबी भुक्तानी गरेको ३२ हजार १७६ जना मध्ये प्राकृतिक र रोगका कारण मात्रै ७९.८६ प्रतिशत अर्थात २५ हजार ६९८ जनाको मृत्यु भएको समितिको तथ्याङ्कले देखाउँछ। तथ्याङ्क अनुसार प्राकृतिक अर्थात उमेर पुगेपछि हुने र रोगका कारण मृत्यु हुनेहरुको संख्या अधिक रहेको प्रष्ट देखिन्छ।
भविष्यमा हुनसक्ने आर्थिक तथा भौतिक क्षतिको जोखिम हस्तातरण गर्ने बीमाको आवश्यकतालाई त्यस तथ्याङ्कले औंल्याएको छ। कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन। त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि बीमाको आवश्यकता अपरिहार्य देखिन्छ।
अध्ययनको लागि संकलन भएको कूल दाबी भुक्तानीको संख्या मध्ये १३ हजार २३८ जना अर्थात ४१. १४ प्रतिशतको प्राकृतिक मृत्यु र १२ हजार ४६० जना अर्थात ३८.७२ प्रतिशतको मृत्यु विभिन्न रोगका कारण भएको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ।
यस्तै दुर्घटनाका करण ४ हजार ४३९ जना अर्थात १३.८० प्रतिशतको मृत्यु भएर दाबी भुक्तानी गरेको छ । आत्महत्या (सुसाईड) का कारण पनि १ हजार ९४ जनाको मृत्यु भएको छ। ९४५ दाबी भने अन्य कारणबाट भएको मृत्युमा दिईएको तथ्याङ्क रहेको छ ।
३२ हजार १७६ बीमा दाबी वापत बीमा कम्पनीहरुले कूल ७ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेका छन् ।