हिमालयन बैंकले २ करोड कित्ता एफपिओ निष्काशन गर्नुपर्ने

Dec 25, 2019 03:41 PM Merolagani

हिमालयन बैंक (HBL) लाई सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै बैंकले २ करोड कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गरेर सर्वसाधारणको हिस्सा बढाउने भएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा बैंक तथा वित्तीय संस्थाले न्यूनतम ३० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई जारी गनुपर्ने व्यवस्था र राष्ट्र बैंकको निर्देशनपछि बैकलाई सर्वसाधारणको हिस्सा बढाउने उपाए भनेको एफपिओ बिक्री नै रहेको छ।

हाल १५ प्रतिशत मात्र सर्वसाधारणको शेयर हिस्सा रहेको बैंकलाई ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले पनि एफपिओ जारी गर्न सुझाव दिएसँगै बैंकले एफपिओ जारी गर्नुपर्ने अवस्था आएको हो। यसअनुसार बैंकलाई अंकित मूल्यमा दुई अर्ब ८३ लाख ४६ हजार १९ रुपैयाँ बराबरको पूँजी एफपिओबाट संकलन गर्नुपर्ने हुन्छ।

हाल ८ अर्ब ५२ करोड रूपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सहित २२ प्रतिशत लाभांश घोषणा गरेको छ। बोनस पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२४ रुपैयाँ कायम हुनेछ। यस पूँजीमा दुई करोड ८३ हजार ४ सय ६० कित्ता एफपिओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ३८ करोड ६ लाख २७ हजार ४४३ कायम हुनेछ।

एफपिओ जारी पश्चात बैंकको हाल रहेको ८५ प्रतिशत संस्थापक हिस्सा ७० प्रतिशत (७ अर्ब ९६ करोड ६४ लाख ३९ हजार २१० रुपैयाँ) मा झर्नेछ भने १५ प्रतिशत रहेको सर्वसाधारणको हिस्सा ३० प्रतिशत (३ अर्ब ४१ करोड ४१ लाख ८८ हजार २३३ रूपैयाँ ) मा बढ्नेछ।

  • कसरी बढ्छ एफपिओ निष्काशन प्रकृया ?

धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिका २०७४ को दफा ७ मा एफपिओ निष्काशन सम्बन्धि व्यवस्था रहेको छ।

एफपिओ जारी गर्न चाहने संस्थाले प्रबन्धपत्र तथा नियामावली मा एफपिओ जारी गर्नसक्ने र एफपिओ पश्चात कायम हुने पूँजी संरचना र सञ्चालक समितिमा हुने परिवर्तनहरुलाई संसोधन गरिएको हुनुपर्छ। जुन बैंकले बोलाउन बाँकी रहेको साधारण सभाको एजेण्डामा बैंकले समावेश गर्नसक्छ।

यसैगरि एफपिओ निष्काशन गर्ने सञ्चालक समिति र साधारण सभाको निर्णय, पछिल्लो पाँच वर्षको लेखापरिक्षण भएको वित्तीय विवरण, बिक्री प्रबन्धकसँग गरिएको सम्झौतापत्र, तथा प्रत्याभूतिकर्तासँग भएको प्रत्याभूत सम्झौता सहित साधारण सभाबाट निर्णय भएको दुई महिनाभित्र आवेदन दिन सक्नेछ।

 

  • कति मूल्य कति होला निष्काशन ?

धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिका २०७४ मा रहेको दफा ३७ मा एफपिओ निष्काशन गर्दा गरिने मूल्य निर्धारणको व्यवस्थाहरु समावेश गरिएको छ। 

जसमा एपपिओ जारी गर्न चाहने संगठीत संस्थाले पछिल्लो तीन वर्षको पुँजीकृत भएको आम्दानी ‘क्यापिटलाइज्ड अर्निङ’, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य ‘डिस्काउन्टेड क्यास फ्लो’ र बोर्डमा निवेदन दिनुभन्दा सात दिन अगाडिको एक सय असी दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने कुल मूल्यको औसत गणना गरेर निर्धारण गर्नुपर्ने व्यवस्था छ।

यसरी कायम भएको औसत मूल्य र लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने उल्लेख छ।

 

यसअनुसार बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा १८० दिनको औसत बजार मूल्य ५२९ रूपैयाँ छ भने गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण (लेखापरिक्षण भएको) अनुसार प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ। निर्देशिका अनुसार नेटवर्थको चार गुणाका आधारमा प्रिमियम गणना गर्दा ७५५ रूपैयाँ ४ पैसा हुन आउँछ। नेटवर्थका आधारमा कायम हुन आउने मूल्यभन्दा १८० दिनको बजारमूल्य कम भएकाले १८० दिनको औसत मूल्यका आधारमा निर्धारण हुने देखिन्छ।

पुस ९ गते दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ५१५ मा कारोबार भैएकोले बैंकले प्रिमियम सहित अधिकतम ५०० रुपैयाँ सम्म राखेर एफपिओ बिक्रीमा ल्याउन सक्ने देखिन्छ। तर एफपिओ निष्काशन हुने बेलामा शेयर बजारमा गिरावट आएको खण्डमा भने एफपिओ निष्काशन हुने मूल्य घट्नेछ ।

असोजको प्रतिवेदन अनुसार हाल ५ अर्ब ८० करोड बराबरको जगेडा कोष रहेको बैंकको ४०० रुपैयाँ प्रिमियममा एफपिओ बिक्री गर्न सकेको खण्डमा जगेडा कोषको आकार ८ अर्ब ३ करोडले वृद्धि भई १३ अर्ब ८३ करोडको उचाईमा पुग्ने देखिन्छ।

यसअघिको यसै समाचारको हेडलाइनमा २ करोड कित्ता एफपिओ हुनुपर्नेमा ३ करोड हुन गएकोमा क्षमा माग्दै सच्चाइएको छ। - सम्पादक

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।