प्राइम बैंक सहित ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2019 09:15 AM Merolagani

प्राइम कमर्सियल बैंक सहित ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १३ गते, आइतबार) अन्तिम दिन हो। यी ५ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि, पुस १४ गते बुकक्लोज गर्नेछन्।

प्राइम (PCBL) ले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ।

गत साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस २६ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा सभा बोलाएको हो।

साधारण सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशत नगद गरी कुल ३१.५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

लघुवित्तले २० प्रतिशत बोनस शेयरको अधिकांश हिस्सा शेयर प्रिमियमबाट वितरण गर्ने बताएको छ। अपुग रकम गत आवको मुनाफाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, साधारण सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानको लागि गनुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजादै छ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रहेको छ। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ।

गत साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ९०१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साना किसान लघुवित्त (SKBBL) ले पुस २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुनेछ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २७.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १.४३ प्रतिशत नगद लाभांश गरी कूल २८.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै लेखापरीक्षक नियुक्ति, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर वितरणपश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ।

गत साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ९९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, जानकी फाइनान्स (JFL) ले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते २३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीका २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। फाइनान्सको सञ्चालक समितिको भदौ २० गते सम्पन्न २८५ औं बैठकले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ।

हाल ४९ करोड २१ लाख चुक्ता पूँजी रहेको जानकी फाइनान्सको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस पश्चात ६० करोड ४ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।
गत साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

युनाइटेड फाइनान्स (UFL) ले लाभांश पारित गर्न पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ।

एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित तीन प्रतिशत बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ ।

गत साताको बुधबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता १७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।