एघार बैंकले शेयरधनीको खातामा लाभांश पठाएको निकाले सूचना, ६ को अझै बाँकी

Dec 30, 2019 06:06 PM Merolagani

शेयर बजारमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ११ वटाले गत आर्थिक वर्ष २०७५/७६ को साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको सूचना प्रकाशन गरेका छन्। हालसम्म १७ बैंकको साधाररण सभा सम्पन्न भैसकेको भएपनि ६ बैंकले भने अझै वितरण गर्न थालेको सूचना प्रकाशन गरेका छैनन्। 

  यसरी लाभांश वितरण गर्नेमा एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसविआई बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, मेगा बैंक, सिटिजन्स बैंक, र ग्लोबल आइएमई बैंक रहेका छन्।

एनआइसी एशिया, सिद्धार्थ, सिभिल, नेपाल बंगलादेश, नेपाल एसविआई, बैंक अफ काठमाण्डू, सनराइज, र लक्ष्मी बैंकले साधारण सभा सकिएको  एक साता नबित्दै  लाभांश वितरण गर्न सुरु गरेपनि सिटिजन्स, मेगा र ग्लोबल आइएमई बैंकले भने साधारण सभा सम्पन्न भएको करिब एक महिना पछि  सभाबाट पारित नगद लाभांश वितरण हुन्।

अन्य  कतिपय बैंकले भने साधारण सभा सकिएको  लामो समय बितिसक्दा पनि लाभांश वितरण सुरु नगरेको पाइएको छ। साधारण सभाबाट अनुमोदन गराइसकेका ६ वटा बैंकले अझै लाभांश वितरण गर्न थालेका छैनन्। 

कुमारी, सानिमा, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, जनता, प्रभु बैंकले भने लाभांश वितरण गरेको सूचना हालसम्म प्रकाशन गरेका छैनन्। 

यी मध्ये कतिपय बैंकले नगद लाभांश वितरण गरिसकेको हुनसक्ने भएपनि नगद लाभांश वितरण गरेको सूचना भने सार्वजनिक नगरेकाले समाचार यी बैंकहरुको नगद लाभांश वितरण  नभएको उल्लेख गरिएको हो। 

लाभांश वितरण थालेका अन्य बैंकहरुले भने लाभांश वितरण थालेको सूचना प्रकाशन गरिसकेका छन्। तर ६ बैंकले भने नगद लाभांश वितरण गरेको सूचना प्रकाशमा ल्याएका छैनन्।

एनआईसी एशिया, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, कुमारी बैंक, सिटिजन्स बैंकको बोनस शेयर समेत नेप्सेमा सूचीकरण भैसकेको छ।

  • चार बैंकको साधारण सभा बोलाउन बाँकी

वाणिज्य बैंकहरुमध्ये अझै ३ वटा बैंकले साधारण सभा आह्वान गरेका छैनन्। दुई बैंक हिमालयन र एनसीसी बैंकले लाभांश घोषणा गरेर पनि साधारण सभा बोलाएका छैनन्।

२८ वाणिज्य बैंकहरुमा अधिकांश साधारण सभा सम्पन्न गर्दा वाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो मानिने सेञ्चुरी कमर्शियल बैंकले अझै लाभांश नै घोषणा गरेको छैन। त्यस्तै नेप्सेमा सूचीकृत नरहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि साधारण सभा आह्वान गरेको छैन। 

लाभांश प्रस्ताव गरेका २६ बैंकमध्ये १७ वटा बैंकले साधारण सभाबाट अनुमोदन गराइसकेका छन् भने ७ वटा बैंकले लाभांश अनुमोदन गर्न यहि पुस अन्तिम साता साधारण सभा बोलाएका छन्।

पुस महिनामा १० वटा वाणिज्य बैंकले साधारण सभा आह्वान गरेकोमा ७ वटाको पुस अन्तिम साता रहेको छ। पुस अन्तिम सातामा मात्रै ७ वाणिज्य बैंकसहित ५२ कम्पनीले साधारण सभा आह्वान गरेका छन्।

 

  • वाणिज्य बैंकहरको औषत लाभांश साढे १९ प्रतिशत

वाणिज्य बैंकहहरुले गत आर्थिक वर्ष औषतमा झण्डै साढे १९ प्रतिशत लाभांश वितरण गर्ने भएका छन्। लाभांश प्रस्ताव गरेका २६ वढा बैंकले औषतमा बोनस र नगद गरी १९.३१ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन्।

गत आर्थिक वर्ष एनएमबि बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने नबिल बैंकले पनि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। दुबै बैंकको लाभांश अनुमोदन हुन भने बाँकी छ।

गत आर्थिक वर्षको कमाईबाट हालसम्म लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकले सबैभन्दा कम  रहेको छ । बैंकले कर सहित ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको छ। लाभांश प्रस्ताव गरेकामध्ये ११ वटा बैंकले औषतभन्दा धेरै लाभांश वितरण गर्ने भएका छन भने १५ वटा बैंकले औषतभन्दा कम लाभांश वितरण गर्ने भएका छन्।

औषतभन्दा धेरै लाभांश वितरण गर्नेमा एनएमबि बैंक, नविल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, सानिमा बैंक र एनआइसी एशिया बैंक रहेका छन्।

लाभांश प्रस्ताव गरेका २६ वटै बैंकले साधारण सभाको लागि बुकक्लोज गरीसकेका छन्। अब शेयर खरीद गर्ने लगानीकर्ताहरुले बैंकले वितरण गर्ने लाभांश पाउने छैनन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।