समीट लघुवित्त, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र नेपाल सेवा लघुवित्तले पुस १६ गते बुकक्लोज गर्न लागेको हो।
समीट लघुवित्त (SMFDB) ले पुस २९ गते एघारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अग्रसेन भवन, बिर्तामोडमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.०९ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि १.११ प्रतिशत गरी कूल २२.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लघुवित्तको शेयर संरचना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ४ करोड ४३ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ पुग्नेछ।
सिन्धु विकास बैंक (SINDU) ले पुस २९ गते दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।
ज्योति विकास बैंक (JBBL) ले पुस २९ गते साधारण सभा बोलाएको छ। बैंकको सो सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्दैछ।
त्यसैगरी, गुडविल फाइनान्स (GFCL) ले पनि पुस २९ गते साधारण सभा डाकेको छ। फाइनान्सको २५ औँ वार्षिक साधारण सभा गुडविल कम्प्लेक्स्, हात्तीसारमा बिहान ११ बजे शुरु हुनेछ। सभाले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, एक जना महिलासहित संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
नेपाल सेवा लघुवित्त (NSEWA) ले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ।
लघुवित्तले पुस २९ गते इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजे शुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सभामा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा स्थापना गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १५ लाख रुपैयाँ बराबरको बोनस पश्चात पूँजी ६ करोड १५ लाख रुपैयाँ पुग्नेछ।