यस साता संस्थापक शेयर मात्रै ११ कम्पनीका पाँच लाख ६७ हजार कित्ता कारोबार भएका छन्। जसमा सबैभन्दा बढी ज्योति विकास बैंकको एक लाख आठ हजार संस्थापक शेयर रहेको छ भने दोस्रोमा देवः विकास बैंकको ६१ हजार कित्ता शेयर कारोबार भएको छ। गएको एक सातामा सबैभन्दा बढी शेयर कारोबार हुने २० कम्पनीको सूचीमा ११ कम्पनीका संस्थापक शेयर परेका छन् भने धेरै कित्ता कारोबार हुने १० कम्पनीको सूचीमा सात कम्पनीका संस्थापक नै छन्।

हकप्रदको भारी बिसाउन, तुलनात्मक रूपमा मूल्य सस्तो भएर, घरायसी नामसारी र केन्द्रीय बैंकको नियमले संस्थापक शेयरको बढी कारोबार भएको अधिवक्ता तथा शेयर विश्लेषक ज्योति दाहालको भनाई छ। 'बैंक वित्तीय संस्थाको चुक्ता पूँजी बढाउन केन्द्रीय बैंकको निर्देशन थियो। पूँजी वृद्धिका लागि संस्थापकले हकप्रद शेयर किन्नै पर्ने बाध्यता भयो। सोही संस्थापक शेयरको मात्रा बढी भएपछि उनीहरूले तरलता व्यवस्थापन गर्न ती शेयरलाई बिक्री गर्ने क्रम बढेको छ' दाहालले भने।
संस्थापक शेयर साधारण शेयरको तुलनामा सस्तो हुने तर लाभांश लगायत अन्य गतिविधिमा बराबरी जसो अधिकार हुने भएकोले दीर्घकालीन लगानीकर्ताको रोजाइमा संस्थापक शेयर पर्न थालेको हो। घरायसी नामसारी र अंशबन्डाले समेत संस्थापक शेयरको कारोबार बढेको अनुमान नेपाल स्टक एक्सचेन्जका एक अधिकारी छ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार एकाघरको परिवार भित्र १५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुनुहुँदैन। सोही नियमका कारण समेत शेयर संरचना मिलाउन संस्थापक शेयरको नामसारी गर्ने क्रम बढेपछि उक्त शेयर बढी बिक्रीमा आउन थालेको हो।
ठूला लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट संस्थापक शेयर स्वामित्व घटाउँदै अन्य क्षेत्रमा लगानी बिस्तार गर्न थालेपछि संस्थापक शेयरको थप बढी कारोबार हुन थालेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए। 'लगानी विविधिकरणका लागि समेत संस्थापक शेयर बिक्री गर्ने क्रम बढेको छ' ती सञ्चालकले भने।
केही महिना अघि उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्री गरेर आएको पैसा अर्कै व्यवसायमा लगाएका थिए भने सिभिल बैंकका संस्थापक इच्छाराज तामाङले समेत संस्थापक शेयर बिक्री गरेका थिए। 'केही संस्थापकले बैंकबाट लिएको ऋणको ब्याज तिर्न र चुक्तै गर्न समेत शेयर बिक्री गरिरहेका छन्' उनले भने।