एभरेष्ट बैंक (EBL) ले लाभांश प्रस्ताव पारित गर्न आज (पुस २३ गते), बुधबार पच्चिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लाभांश वितरण गर्ने, ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। असोज २६ गते सम्पन्न सञ्चालक समितिको ३१० औं बैठकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गरेको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।
त्यसैगरी, आरएमडिसी लघुवित्त (RMDC) ले पुस २३ गते बिहान ११ बजे अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ।
लघुवित्तको २१ औं वार्षिक साधारण सभाले चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५० प्रतिशत बराबरको बोनस शेयर र १२.५० प्रतिशत बराबरकै नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने विशेष एजेण्डा रहेको छ।
त्यस्तै, सभाले बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट आउने निर्देशन अनुसार संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि आरएमडीसीले पुस ११ गतेदेखि पुस २३ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा शेयर खरीद गरि शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनुका साथै सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ।
नेपाल ल्यूब आयल लिमिटेड (NLO) ले गत आर्थिक वर्षको मुनाफबाट प्रस्ताव गरेको ३० प्रतिशत नगद लाभांश अनुमोदनका लागि पुस २३ गते २८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो। कम्पनीको साधारण सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे २८ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो। पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न आज बाईसौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ।
सो सभा ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ। शेयरधनीहरुको दस्तखतको लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान साढे १० बजेदेखि खुल्ला गरिने कम्पनीले जनाएको छ।
सभामा गत आर्थिक वर्षको खुद मुनाफा सहितको सञ्चितिबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १० गते शेयरको दर्ता किताब बन्द गरेको थियो। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।