साढे सात महिनापछि १३०० विन्दु माथि नेप्से, रहिशाले शेयर बिक्री गर्दा हिमालयन डिष्टिलरीको उच्च कारोबार

Jan 16, 2020 03:58 PM Merolagani

साढे ७ महिनापछि नेप्से परिसूचकले एक हजार ३०० विन्दुलाई पार गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से २.०२ प्रतिशत अर्थात २६ अंक बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको हो।

पछिल्लो समय नेप्सेमा दिनानुदिन सुधार हुँदै गएसँगै सो विन्दु पार गर्न सफल भएको हो। यस दिन कारोबार खुलेको पहिलो १५ मिनेटमा नै सो विन्दुलाई पार गरेको थियो। तर, बिक्रीकर्ता हाबी भएपछि नेप्से ओरालो लागेको थियो। बजारमा पुनः खरिदकर्ताहरु बढेपछि नेप्सेले सो विन्दुलाई पार गर्न सफल भएको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन १६१ कम्पनीको १७ हजार २९५ पटकको कारोबारमा १ अर्ब ६९ लाख ९९ हजार रुपैयाँ बराबरको ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

वित्तीय क्षेत्रमा तरलता शेयरबजारमा दैनिक कारोबार रकम पनि बढेको छ। दोस्रो बजारमा औषत कारोबार रकम ४३ प्रतिशत बढेको छ। केही समय अघिसम्म दैनिक औषत ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भइरहेको बजारमा अहिले ८४ करोडभन्दा बढीको औषत कारोबार हुन थालेको छ।

बजारको कारोबार रकम बढेपनि ठूला लगानीकर्ताहरु अझै बजार प्रवेश नगरेको ब्रोकरहरु बताउँछन्। अहिलेको बजारलाई साना तथा केही नयाँ लगानीकर्ताहरु धानीरहेको उनीहरुको भनाइ छ। ठूला लगानीकर्ताहरु प्रवेश गरे कारोबार रकम अझै बढ्ने उनीहरुले बताए।

बिहीबार ५ कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेको छ। अन्य ९ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईबिएल प्रगति फण्ड, मल्टीपर्पस फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, नेशनल माइक्रोफाइनान्स, आशा लघुवित्त, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, शिवम् सिमेन्ट्स लगायतका कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

  • हिमालयन डिष्टिलरीको उच्च कारोबार

हिमालयन डिष्टिलरीको शेयर कारोबार यस दिन सबैभन्दा बढी भएको छ। सो कम्पनीको यस दिन १४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीका एक सञ्चालक रहिशा शाह श्रेष्ठले ठूलो मात्रामा शेयर बिक्री गरेका कारण कम्पनीको उच्च कारोबार भएको स्रोतले बताए। उनको अधिकांश शेयर ब्रोकर नम्बर ४४ र ५३ बाट बिक्री भएको छ।

त्यसैगरी, शिवम् सिमेन्ट्सको यस दिन १३ करोड ५९ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। एनआईसी एशियाको यस दिन करिब ७ करोड बराबरको शेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। उत्पादन र वित्त उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र होटल उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।