दक्षिण अफ्रिकामा चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यकः राष्ट्रसंघ

Jan 17, 2020 09:30 AM RSS

दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले बिहीबार जनाएको छ।

“भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढदो अवस्थामा रहेको छ,” विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए।

राष्ट्रसंघीय उक्त संस्थाले बताएअनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा त्यहाँका नागरिकले आफ्ना बहुमुल्य सम्पत्तिलाई बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको वास्तविकता रहेको छ। खाद्यान्न अभावका कारण महङ्गो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीका कारण बालबालिकाले विद्यालयको शुल्क तिर्न नसक्दा विद्यालयबाट बाहिरिएका घटना र आधा पेट खाने वा खाना नै नखाने अवस्था धेरै अफ्रिकी नागरिकको दैनिकी रहेको पनि क्यास्ट्रोले बताए।

क्यास्ट्रोले भने, “अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब चार करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने तर संस्थासँग यसको आधा पनि बजेट नभएकोले अन्तर्राष्ट्रिय समुदायले समयमै सोच्नुपर्ने देखिएको छ।”

दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको र त्यहाँका जनताले विगत ३५ वर्ष यता सबैभन्दा खराब खाद्यान्न सङ्कटको सामना गर्नुपरेको राष्ट्रसंघले जनाएको छ।
निम्न आर्थिक वृद्धि, बढ्दो जनसङख्या दर, खडेरी र बाढीको प्रभाब नै खराब खाद्य सङ्कटको कारक भएको क्यास्ट्रोले बताए।

खासगरी इस्वाटिनी, लेसोथो, मदागस्कर, मालावी, मोजाम्विक, नामिविया, जाम्बिया र जिम्बाब्वेलगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न सङ्कटको सामना गरिरहेका राष्ट्रसंघले जनाएको छ।

जिम्बाब्वेका आधा जनसङ्ख्या अर्थात् एक करोड ५० लाख नागरिकले चरम खाद्य सङ्कट झेलिरहेको राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।

जिम्बाब्वेमा खडेरीका कारण गत वर्ष तीन महिनाको समयमा करिब २०० हात्ती खानाको अभावमा मरेका थिए भने अन्य जनावरले पनि यसको पीडा भोग्नुपरेको थियो।

लेसोथोमा २० प्रतिशत, नामिवियामा १० प्रतिशत नागरिकले खाद्यान्न अभाबको सामना गरेका छन्। त्यस्तै रेडक्रसले दिएको तथ्याङ्कमा जाम्बियामा करिब २३ लाख नागरिकमा खाद्यान्न असुरक्षा रहेको छ। जाम्बियालाई अफ्रिकाको खाद्यान्न भण्डार भनिने गरेपनि खडेरीका कारण पानीका स्रोतहरू सुक्दा त्यहाँको कृषि उत्पादनमा ह्रास आएको छ।

मौसम विज्ञहरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन्।
यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसङ्ख्यालाई खाद्यान्न सहयोग वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ। बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ। यूरोपेली संघले दुई करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रममार्फत यस क्षेत्रमा काम गरिरहेको बिहीबार जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।