नियामक निकायमा नारी, आत्मविश्वास छ भारी

Jan 18, 2020 10:04 AM Merolagani

ज्योती शाह ।

घर र भान्साकै काममा मात्रै महिलालाई देख्न रूचाउने नेपाली समाजमा हिजो आज परिवर्तन देख्न थालिएको छ। पछिल्लो समय बिस्तारै महिला घर र भान्साकै दायाराबाट बाहिरिँदै छन्। उनीहरु आफ्नै खुशीले रोजेको बाटोमा हिड्न थालेका छन्।

उनीहरुले रोजेको बाटोको गन्तव्य यति माथिसम्म उक्लिसकेको छ कि उनीहरुले प्राप्त गरेको गन्तव्यसम्म पुग्न धेरैलाई हम्मे पर्छ।

राज्यका प्रमुख निकायमा उनीहरुको उपस्थिति बढ्दै गएको छ। जस्तै पूँजी बजारको नियामक निकायमा महिलाको नेतृत्वदायी उपस्थितिले धरैलाई अचम्म भन्दा पनि उत्साहित पारेको छ।

नेपाली पूँजीबजार क्षेत्रको प्रमुख तीनवटा नियामक निकायको सह नेतृत्वमा अहिले महिलाहरू छन्। नेपाल धितोपत्र बोर्डकी सह कार्यकारी निर्देशक दीपा दाहाल, नेपाल स्टक एक्सचेञ्जकी उप प्रबन्धक तथा कम्पनी सचिव प्रविण पान्दाक र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी निर्देशक कन्चन सापकोटा नियामक निकायका नेतृत्वतहमा लम्कदैँ गरेका कुशल नारी हुन्। छोरी भएकै कारण समाज र धर्मले गरेको विभेद र उल्झन चिरेर आफूलाई स्थापित गर्न दाहाल, पान्दक र सापकोटाले गरेको मेहेनत, धेरैका लागि प्रेरणादायी बन्न सक्छ।

  •  अध्ययनमा अब्बल

धितोपत्र बोर्डकी सह कार्यकारी निर्देशक दिपा दाहाल विद्यालय तहदेखि स्नातकोत्तर तहसम्म प्रथम श्रेणीमा शैक्षिक उपाधि हासिल गरेकी नारी हुन्। प्रदेश ३ को रत्ननगर,२, टाँडी चितवन जिल्लामा जन्मिएकी दिपाको सफलताको सुत्र नै पोजिटिभ एटिच्युड हो।

ताप्लेजुंगको एक सामान्य परिवारमा जन्मिएकी स्टक एक्सचेन्जकी उपप्रबन्धक तथा कम्पनी सचिव प्रविण पान्दक व्यवस्थापन संकायमा छात्रातर्फ र कानूनको स्नातकोत्तर तहकाे त्रिभुवन विश्वविद्यालय टपर हुन्। उनी आफ्नो सफलताको सम्पूर्ण श्रेय अध्ययनलाई मान्छिन्। 

त्यसैगरी , सिडिएस एण्ड क्लियरिंग लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी निर्देशक कन्चन सापकोटा इन्जिनियरिंगमा स्नातक र एमबिए पहिलो श्रेणीमा उत्तिर्ण गर्न सफल नारी हुन्। काठमाडौँको विशालनगरमा जन्मिएकी कन्चनले उनको आत्मविश्वास र अथक मिहिनेत नै उनी सफल हुनुको कारण मान्छिन्।

  •  नियमनकारी सरकारी सेवाको आकर्षण

बैँकमा जागिर गर्ने लगावका साथ दिपा २०६४ साल काठमाडौँस्थित नेपाल बैँकमा खुला प्रतिस्पर्धा मार्फत् १७ औँ नम्बरमा सहायक तहको जागिरे जीवनमा प्रवेश गरिन्। उक्त बैँकको विभिन्न तहको प्रतिस्पर्धामा अब्बल हुँदै छानिएपछि बढुवा भएर म्यानेजरको रुपमा उनी नेपालगन्जमा समेत कार्यरत रहिन्। त्यसपछि धितोपत्र बोर्डमा आवेदन खुल्यो। बैकिंग क्षेत्रलाई उनले नियमित जागिर जस्तो ठानिन्। बैँकिंग क्षेत्रको बारेमा जानियो, अब करियर स्वीच गर्नुपर्छ भन्ने लागेर उनी धितोपत्र बोर्डको परीक्षाका लागि तयारी गर्न लागिन्।

नेपालको पूँजी बजार उदयमान क्षेत्र भएकाले दोस्रो तहमा अहिले नै जाँदा, उनको वृत्ति विकासको अवसर रहन्छ होला भन्ने पनि उनलाइ लाग्यो। अन्तत: उनले रेगुलेटरी क्षेत्रको अनुभव बटुल्न आत्मविश्वासका साथ परीक्षा दिइन् र छानिइन् पनि। २ वर्ष दोस्रो तहको अनुभव र अथक मेहनत पछि फेरि प्रथम तहको परीक्षामा सामेल भई उनी नियुक्त भईन्।

उता, प्रविण पान्दाकको आत्मविश्वासले उनको जीवनलाई अर्कै मोड दियो।

पढाइका साथै अन्य विभिन्न विधामा पनि अब्बल पान्दक नेपाल स्टक एक्सचेञ्जमा आवेदन खुलेको थाहा पाउने बित्तीकै, 'मैले गर्न सक्छु भन्ने विश्वास' र रात दिन नभनी गरिएको अध्ययनको कारण २०६४ मा खुला प्रतिस्पर्धाबाट छानिइन्। अफिसरको छैठौं तहमा ४ जनाको माग भएकोमा उनी पनि छानिइन् र त्यसरी उनको स्थायी जागिरको सुरूवात भयो।

कन्चन सापकोटा पहिले बैँकर थिइन्। नेपाल इन्भेष्टमेन्ट बैँकमा साढे चार वर्षको जागिरपछि उनलाई त्यो जागिर 'मोनोटोनस' लाग्यो। उनको रुची आईटिमा थियो। त्यसैले केहि नयाँ गर्ने उद्देश्यका साथ उनले सिडिएससिमा २०६९ मा आवेदन दिइन्। बैँकको जागिर र सानो बालकको केहि दिन बेवास्ता गर्दै उनी पुरा रुपमा कोठा बन्द गरि अध्ययन गरिन्। फल स्वरुप उनको छैठौँ र सातौँ तह दुबैमा नाम निस्कियो।

  •  समस्या पन्छाएरै सफलता

छोरी भएकै कारण पखेँटा फिजाएर फैलन रोक्ने समाज र परिवारको भूमिका यी तीन जनाको जीवनमा नआएका हुँदै होईन। तर यी सबैले सबै बाधा पन्छाई आफ्नो जीवनको लक्ष्य पूरा गर्न कुनै कसर बाँकी राखेनन्। पारिवारिक जीवनका अप्ठ्यारालाई चुनौती मान्दै व्यवसायिक जीवनमा अघि बढिरहेका छन्, यी महिला।

तर, नेतृत्व तहमा एक महिला कार्यरत हुँदा पुरुषको तुलनामा महिलालाई कामका सवालमा अलि कम विश्वास गरिने यी तीनै जना नियामकमा रहेका महिलाको अनुभव  छ ।

दिपा भन्छिन्, 'सबैतिर महिला नेतृत्व तहमा कम भएकाले कोही महिला अघि बढ्यो भने नजिकबाट नियाल्ने यहाँ धेरै छन्।' महिलालाई जति पुरुषलाई नियाँलिदैन। अनि निर्णय गर्दा पनि पहिले नै आँकलन गरिने मानसिकता व्यापक छ जस्तो लाग्छ उनलाई। यद्यपी बोर्डमा भने अत्यन्त सहयोगी वातावरण रहेको उनको भनाई छ।

यसै सन्दर्भमा प्रविण भने अलि फरक सोच्छिन्। केही पुरुष घरमा श्रीमतीलाई ढोगाएर आउने र कार्यालयमा महिलालाई हाकिमका रूपमा स्वीकार्न नसक्ने पुरुषको कथित 'ईगो' चुनौती भएको पनि देखिन् उनले। 'तर, सबै पुरुष उस्तै हुन्नन्,' उनी थप्छिन्, 'केही पुरूष अति डिसेन्ट हुनुहुन्छ जसले सबै महिलालाई सम्मान गर्नुहुन्छ।'

महिलाहरुको समावेशिता बढ्दै गएको छ। तर अहिले पनि नीति निर्माण र कार्यकारी तहमा महिलाहरु हुनुहुन्न। ९५ प्रतिशत पुरुषहरुसँग काम गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा महिलाहरुलाई कपोकल्पित आरोप लगाउने पनि छन् यहाँ। ढिलो चाँडो सत्य थाहा हुन्छ तर अडिग हुनुपर्ने आवश्यकता छ। नेतृत्व गर्दा छोरी मान्छे हो, सक्दैन भनेर वेवास्ता गरिएको अनुभव पनि प्रविणसँग छ।

कन्चनले पनि त्यस्तै महशुस गर्छिन्।  काम गर्ने समयमा महिला माथि प्रश्न उठ्ने र प्राय महिलाले पनि आत्मविश्वासका साथ 'गर्न सक्छु' भन्न नसक्ने समस्या व्याप्त रहेको उनको ठम्याइ छ। तर, उनले आफ्नो सफलताको श्रेय परिवारबाहेक उनको टिमलाई नै दिन्छिन्।

यसका साथै, तीनै जनाले आजसम्म मार्ग निर्देशन गर्ने आफ्नो परिवारको साथ र प्रेरणाका कारणले नै यो उपलब्धि हासिल गर्न सकेको बताउँछन्। दिपा र कन्चनले आफ्ना श्रीमानले पारिवारिक जीवनका साथै पेशागत जीवनको विकासमा पनि ठूलो भूमिका निर्वाह गरेको बताए। प्रविणले भने यस प्रसंगमा आफ्नी छोरी र मेहेनतलाई सम्झिइन्।

  •  एक दिन नियामकको नेतृत्व सम्हाल्ने लक्ष्य

दिपा दाहाल भन्छिन्, 'बोर्डको पहिलो तहमा छु, अब कार्यकारी निर्देशक र अन्तिम लक्ष्य अध्यक्ष पनि हो। कार्यकारी निर्देशक बनेर बोर्डलाई अघि बढाउँछु भन्ने त छ नै तर बाँकी अध्यक्ष भनेको राजनैतिक नियुक्ति हो। अब भोली परिस्थितिले कहाँ पुर्‍याउँछ। तर जे  भएपनि बोर्डको माथिल्लो तहमा पुग्छु, बोर्डका लागि केहि गर्न चाहन्छु। मेरो अवधिमा केही राम्रा काम गर्न सकुँ भन्ने चाहना छ।'

प्रविण पनि उच्च तहसम्म पुग्न चाहेको र आफ्नो जिम्मेवारी पुरा गर्दै नेप्सेको विकास गर्ने योजना रहेको बताउँछिन्।

यसै सन्दर्भमा कन्चन भन्छिन्, 'सबैको लक्ष्य माथिल्लो तहसम्म पुग्ने नै हुन्छ तर अहिलेको अवस्थामा कोसिस गर्छु कि गर्दिन अझै टुंगो छैन।'

  • अवसर पाए छोरीले पनि गर्न सक्छन्

महिलाले नसक्ने भन्ने केही छैन। परिवारको साथ कार्यालय पनि सँगै लान सकिन्छ। उच्च महत्वाकांक्षी नभइ कोशिस कहिल्यै छोड्नु हुँदैन भन्ने उदारहणमा दीपा, प्रविण र कन्चन देखिएका छन्।

शिक्षा नै सबैको हतियार हो। सकारात्मक सोच, शिक्षा र लगनशीलताले लक्ष्यमा पुग्न सकिन्छ। आफ्नो शक्ति खोज्नु पर्छ। महिलालाई लगानी गर्न उर्जा दिनुपर्ने दाहालको भनाई छ।

प्रविणले महिलालाई एकदम मेहनत, पूर्ण आत्मविश्वास र इमान्दारिताकासाथ लागि परियो भने अवश्य सफल भइन्छ भन्ने सन्देश दिन्छिन्। छोरीलाई बराबर अवसरका साथै वातावरण परिवारले दिनुपर्छ। अप्ठ्यारा समयले निर्खाछ। तर, हर कोहीले मेहेनत गर्नुपर्छ, रोकिनु हुँदैन भन्छिन् प्रविण।

महिलाले कुनै पनि आएको अवसरलाई गुमाउन नहुने र आँटेमा सफल भइन्छ भन्ने सन्देश कन्चनकाे छ। नारी पुरुष सबै हिसाबले बराबर हुन्छौँ भने आफुमाथि विश्वास गर्नुपर्छ भन्ने पनि उनी सोच्छिन्।

लगानीकर्ताका लागि भने महिला लगानीकर्ताहरुले अध्ययन गर्नुपर्ने, अपडेट हुनुपर्ने र त्यसका लागि घर परिवारको साथ आवश्यक रहेको उनको भनाई छ।

( नाेट : फाेटाे माथिबाट क्रमश : दीपा दाहाल, प्रविण पन्दाक र कन्चन सापकाेटा)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।