मार्जिन कर्जामा लगानीकर्ता आकर्षित देखिएनन्, किन ?

Jan 21, 2020 06:08 PM merolagani

रविन पाैडेल।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मार्जिन प्रवृत्तिको कर्जाको माग घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा उक्त प्रवृत्तिकाे कर्जाको माग ०.३२ प्रतिशतले घटेको छ । मंसिर महिनामा शेयर बजार लगातार ओराले लागेपछि मार्जिन  प्रवृत्तिकाे कर्जाको माग घटेको हो । 

पछिल्लो समय राष्ट्र बैंकले अन्य क्षेत्र जस्तै घर तथा गाडी कर्जामा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थामा मार्जिन कर्जा लगानी बढाउन बैंकहरूले ब्रोकर कार्यलय तथा लगानीकर्ता बढी हुने अन्य क्षेत्रहरुमा समेत बजार प्रवर्द्धन गर्दै आएका छन्। तर बजार सुधार नभए यस कर्जामा लगानीकर्ताको आकर्षण नबढ्ने देखिएको छ।

मंसिर महिनामा शेयर बजारमा आएको लगातरको गिरावटले गर्दा लगानीकर्ताहरुले ऋण लिएर लगानी गर्न चाहेनन्। पछिल्लो समय भने बजारमा केही सुधार देखिएकाले यस्तो कर्जा समेत बढ्न सक्ने देखिन्छ ।

मार्जिन लोन घट्नमा बजार घट्नु नै मुख्य कारण रहेको लगानीकर्ताहरुको भनई छ । मंसिरमा बजार घटेको र घटेको बजारमा ऋण लिएर लगानी गर्न कोही पनि नआएकाे लगानीकर्ता तुलसीराम ढकालले बताए।

उनले त्यतिवेला बैंकहरुको व्याजदर समेत उच्च रहेकोले मार्जिन कर्जामा कमी आएको भन्दै अबको रिपोर्टमा भने यस्तो कर्जा बढ्ने बताए।

 

चालु आर्थिक बर्षको पाँच महिना अबधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४४ अर्ब ६ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरेका छन् । कार्तिकमा भने उनीहरुले ४४ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका थिए । कार्तिकको तुलनामा यो रकम चार करोड रुपैयाँले कम हो । जुन ०.३२ प्रतिशत हो । 

असोजमा केही संतोषजनक देखिएको यस्तो कर्जा कार्तिक लागेयता लगातार घट्दो क्रममा देखिएको छ । 

कार्तिकमा यस्तो कर्जा १.५३ प्रतिशतको कमी आएको थियो । कार्तिकमा यस्तो कर्जा ३५ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको केन्द्रीय बैंकको मासिक विवरणमा देखिन्छ। भदौको तुलनामा भने असोजमा यस्तो कर्जाको माग १.९६ प्रतिशतले बढेको थियो। असोजमा कुल ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कर्जा प्रभाह भएको थियो । भदौमा यस्तो कर्जा ३४ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । 

केन्द्रीय बैंकको नियम अनुसार बैक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म उक्त प्रकृतिको कर्जा प्रवाह गर्न सक्छन् । वित्तीय संस्थाहरुले चुक्ता पूँजी र जगेडा कोष जोडेर प्राथमिक पूँजी निर्माण गर्न पाउँछन् ।

मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पूँजी ३ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ छ । उनीहरुको जगेडा कोषमा ८७ अर्ब १४ करोड रुपैयाँ जम्मा छ।

जगेडा कोष र चुक्ता पूँजी जोड्दा ३ खर्ब ९८ अर्ब ५४ करोड रुपैयाँ बराबराको प्राथामिक पूँजी कायम हुन्छ । राष्ट्र बैंकको नियम अनुसार उक्त पूँजीको २५ प्रतिशत अर्थात ९९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न सक्छन् । तर बजार लगातार घट्दो क्रममा रहेका कारण शेयर कर्जामा लगानीकर्ताको आकर्षण नहुँदा क्षमता अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सकेका छैनन् ।

  • कर्जामा बिकास बैंक अगाडि

वाणिज्य बैंकमा शेयर कर्जाको माग घट्दा विकास बैंकमा भने बढेको छ । गएको पाँच महिनामा २७ वाणिज्य बैंकहरुबाट ३४ अर्ब रुपैयाँ बराबरको शेयर कर्जा प्रवाह भएको छ। यो अघिल्लो महिना अर्थात कार्तिकको तुलनामा ०.३५ प्रतिशतले कम हो ।

कार्तिकसम्ममा ३५ अर्ब ६ करोड रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरेकोमा एक महिनामा उक्त कर्जा १२ करोड ४० लाख रुपैयाँले घटेको छ। तर गत वर्षको तुलनामा भने यस्तो कर्जाको माग बढेको छ। समग्रमा गत आर्थिक वर्षमा ३३ अर्ब २० करोड रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरेका बैंकहरुले चालु आर्थिक वर्षमा ३५ अर्ब ५७ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको तुलनामा ७.१२ प्रतिशतले धेरै हो। मंसिरमा बाणिज्य बैकहरुसँग एक खर्ब ७२ अर्ब रुपैयाँ कर्जा दिन सक्ने क्षमता थियो ।

यता विकास बैंकहरुबाट मार्जिन कर्जा लिने लगानीकर्ताहरु भने बढ्दै गएको देखिएको छ। राष्ट्र बैंकले निकालेको पाँच महिनाको तथ्याँकमा मार्जिन कर्जा प्रवाह बढ्दै जानुले लगानीकर्ताहरु मार्जिन कर्जा लिन विकास बैंकमा बढी आकर्षित भएको देखिन्छ । 

गएको पाँच महिना २४ विकास बैंकहरुले ७ अर्ब ५५ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो महिनाको तुलनामा ०.०४ प्रतिशतले धेरै हो। 

कार्तिक महिनासम्मा ७ अर्ब ५४ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेकोमा एक महिनामा यस्तो कर्जा प्रवाह झण्डै ३० लाख रुपैयाँले बढेको हो । विकास बैंकहरुसँग १० अर्ब ९७ करोड रुपैयाँको क्षमता छ । जुन लगभग सकिएको छ । 

त्यसैगरी यस अवधिमा फाइनान्स कम्पनीहरुले वितरण गर्ने मार्जिन कर्जाको रकम समेत घटेको छ। फाइनान्स कम्पनीहरुले मंसिरसम्ममा ६ अर्ब १५ करोड रुपैयाँको कर्जा प्रवाह गरेका छन्। याे अघिल्लो महिनाको तुलनामा एक करोड रुपैयाँ कम हो । फाइनान्सको क्षमता चार अर्ब ५७ करोड रुपैयाँ बराबरको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।