मर्जरका कारण साढे ६ महिनादेखि कारोबार रोक्का रहेको यस बैंकको शेयर कारोबार गत सोमबारदेखि खुलेको थियो। सोही दिनदेखि नै बैंकको शेयरमा खरिदचाप देखिएको थियो।
यस दिन कूल कारोबार रकममा बैंकको हिस्सा ३८.६८ प्रतिशत रहेको छ। यस दिन १७८ कम्पनीको १५ हजार ५०८ पटकको कारोबारमा १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको ४९ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ग्लोबल आइएमई बैंकको मात्र ४ हजार ७९० पटकको कारोबारमा ६१ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाल बैंकको यस दिन ९ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ६९ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
नेप्से परिसूचक यस दिन ७.०५ अंक घटेर एक हजार ३१३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१३ अंक घटेर २८२.३० विन्दुमा झरेको छ। वित्तीय क्षेत्रमा तरलता कम भएसँगै नेप्से ओरालो लाग्न थालेको हो। पुस मसान्तसँगै बैंकबाट सरकारी ढुकुटीमा रकम सार्दा तरलता घटेको हो।
शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीहरुको शीर्ष स्थानमा यस दिन एशियन लाइफ इन्स्योरेन्स रहेको छ। इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८.४७ प्रतिशत बढेको छ। त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८.२० प्रतिशत बढेको छ।
यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य ८.६९ प्रतिशत घटेको छ। कञ्चन डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ भने नबिल इक्विटी फण्ड र सिनर्जी पावर डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस दिन २.३२ प्रतिशत बढेको छ। हाइड्रोपावर, व्यापार र होटल उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।