वित्तीय क्षेत्रमा तरलता अभाव भएको जानकारी आइरहँदा शेयरबजारमा भने दैनिक एक अर्बभन्दा बढीको कारोबार भइरहेको छ। लगानीकर्ताहरुले अन्य क्षेत्रमा गरेको लगानी बजारतर्फ मोड्न थालेपछि दैनिक कारोबार रकम बढ्न थालेको ब्रोकरहरु बताउँछन्। बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर कम गरेको र घरजग्गामा आएको मन्दीका कारण त्यस क्षेत्रका लगानीकर्ताहरु समेत शेयरबजारमा प्रवेश गरेको उनीहरु बताउँछन्।
यसका साथै लामो समयदेखि सुस्त गतिमा रहेको शेयर बजारमा पछिल्लो दुई महिनादेखि बढ्न थालेपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको एक ब्रोकरले बताए। बजार बढ्न थालेपछि अन्य क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ताहरुले पनि अल्पकालीन नाफा लिन शेयर बजारमा प्रवेश गरेको उनको भनाइ छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९५ अंक घटेर एक हजार २९७.४७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.५९ अंक घटेर २७८.७२ विन्दुमा झरेको छ। यस दिन १७२ कम्पनीको १५ हजार ३१६ पटकको कारोबारमा १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर खरिदबिक्री भएको छ।
घटेको बजारमा सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। विद्युत बिक्री आम्दानी बढाउँदै खर्च नियन्त्रण गरी नाफामा उल्लेख्य सुधार गरेको वित्तीय विवरण प्रकाशित गरेसँगै यस जलविद्युत कम्पनीमा लगानीकर्ताहरु आकर्षित भएका हुन्। कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ७८.७७ प्रतिशत खुद नाफा बढाउन सफल भएको थियो। यस दिन मिथिला लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.९६ प्रतिशत घटेको छ। मञ्जुश्री फाइनान्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उच्च लाभांश वितरण गर्ने अपेक्षामा लगानीकर्ताहरु रहेका छन्। इन्स्योरेन्सको यस दिन १८ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
पछिल्ला कारोबार दिनहरुमा कारोबार रकमका आधारमा शीर्ष स्थानमा कब्जा गर्दै आएको ग्लोबल आइएमई यस दिन दोस्रो स्थानमा झरेको छ। बैंकको यस दिन १५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक यस दिन ०.२६ प्रतिशत र जीवन बीमाको ०.५७ प्रतिशत बढेको छ।