मर्चेन्ट व्यवसायमा मन्दी, वार्षिक सञ्चालन खर्च धान्नै धौ धौ

Jan 23, 2020 06:41 PM Merolagani

सुवास निरौला

शेयर निष्कासनमा कमी आएसँगै मर्चेन्ट बैंक व्यवसाय सुस्ताएको छ। व्यवसाय सुस्ताएसँगै सञ्चालन खर्च धान्न समेत यति बेला मर्चेन्ट बैंकहरूलाई हम्मे हम्मे पर्न थालेको छ ।

व्यवसाय धान्न हम्मे पर्न थालेपछि उनीहरूले लगानी अन्य क्षेत्रतर्फ मोड्न थालेका छन्। पोर्टफोलियो म्यानेजमेन्ट, म्युचुअल फण्ड लगायतका प्रडक्टमा उनीहरूले ध्यान केन्द्रित गर्न थालेका हुन्। 'चालु आर्थिक वर्षमा शेयर निष्कासन असाध्यै न्यून छ। इस्यु म्यानेजरको कामले मात्रै अहिले धानिने स्थिति छैन' सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले भने।

यस अघि चलेका क्यापिटलले कम्तीमा १५ देखि १६ वटा वार्षिक शेयर निष्कासनकाे काम पाउने गरेका थिए। तर यति बेला चलेका क्यापिटलले तीन भन्दा बढी शेयर निष्कासनको काम पाएका छैनन्। उनीहरूलाई वार्षिक खर्च चलाउन कम्तीमा एउटा ठूलो इस्यु र साना हकप्रद लगायतका तीनवटा शेयर निष्कासन भए पुग्थ्यो। निष्कासन स्वाट्टै घटेका कारण यति बेला त्यो संख्यामा समेत काम हुन छाडेको छ।

नेपाल धितोपत्र बोर्डको तथ्यांङ्क अनुसार चालु आर्थिक वर्षमा जम्मा १७ वटा कम्पनीले निष्कासन अनुमति पाएका छन्। जसमा प्राथमिक शेयर एक, हकप्रद सात र कर्पोरेट डिबेन्चर ९ वटा छन् । बोर्डको तथ्याङ्क अनुसार यति बेला ३१ मर्चेन्ट बैंक सञ्चालनमा छन्। सबैले बिक्री प्रबन्धकको काम गर्दैनन्। तर गर्नेले एउटै निष्कासनको काम पाउन समेत हम्मे हम्मे पर्न थालेको हो ।  

वार्षिक सञ्चालन खर्च धान्नै मुस्किल परेका मर्चेन्ट व्यवसायी चालु आर्थिक वर्ष घाटामा जान सक्ने देखिएको छ। पर्याप्त काम नपाएका व्यवसायी यस वर्ष घाटामा जाने निश्चित रहेको एक मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। किनकि पछिल्लो समयको निष्कासन अनुमतिले नै घाटाको प्रक्षेपण गरिरहेको उनको भनाइ छ।

बिक्री प्रबन्धकको काम नपाएकै कारण उनीहरूले पोर्टफोलियो म्यानेजमेन्ट र सामूहिक लगानी कोषलाई प्राथमिकता दिएका हुन्। तर पछिल्लो समय बजार घटेका कारण त्यसमा समेत भनेजस्तो नाफा गर्न सकेका छैनन्। मर्चेन्ट बैंकहरूले निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूतिकर्ता, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको जिम्मेवारीकाे काम गर्दै आएका छन्। जसमा निष्कासनको काम ठप्पै जस्तो देखिएको छ। निष्कासन ठप्पै जस्तो भएपछि प्रत्याभूतकर्ताको काम समेत प्रभावित भएको छ। प्रत्याभूतिको काम पाए पनि राम्रो निष्कासनमा तीव्र प्रतिस्पर्धा कारण उनीहरू सेवा शुल्क नै कम लिन बाध्य हुनु परेकाे छ। कमसल निष्कासनमा प्रत्याभूतकर्ता नै फस्ने स्थिति पछिल्लो समय देखिएको छ। संस्थागत परामर्शदाताको काम यति बेला चलेको छैन भने रजिष्ट्रारको कामले मात्रै धान्न मुस्किल देखिएको छ।

मर्चेन्ट बैंकको तीव्र प्रतिस्पर्धा कारण उनीहरूले पाउने कामको सीमा समेत घटेपछि उनीहरूले कार्य क्षेत्र बिस्तार गर्न माग गरिरहेका छन्। उनीहरुको माग बमोजिम कार्य क्षेत्र बिस्तार गर्ने तयारी धितोपत्र बोर्डले गरिरहेको जनाएको छ। जसकालागि धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ संशोधन गर्दै उनीहरूको कार्य क्षेत्र बिस्तार गर्न लागिएको हो। जुन नियमावली संशोधनको लागि बोर्डले अर्थ मन्त्रालय पठाएको छ। नियमावली संशोधन भएर आएसँगै उनीहरूको कार्य क्षेत्र थप बिस्तार हुने छ भने उनीहरूलाई एक आपसमा गाभ्ने/गाभिने बाटो समेत खोलिँदैछ। जसले धानिनै नसक्नेहरूलाई मर्जरमा जान प्रोत्साहित गर्नेछ।     

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।