गत साता १८८ कम्पनीको ८६ हजार ४९० पटकको कारोबारमा ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख कित्ता शेयर खरिदबिक्री भएको थियो।
गत साताको औषत कारोबार रकम १.७१ अर्ब रहेको थियो। यो अघिल्लो साताको औषत कारोबार रकमको तुलनामा ३८ करोड बढी हो। त्यसैगरी, अघिल्लो साता ८०.५४ करोड रहेको पछिल्लो २० दिनको औषत कारोबार रकम गत साता बढेर १ अर्ब ४ करोड पुगेको छ।
शेयर बजारले गति लिन थालेसँगै कारोबार रकममा सुधार हुँदै गएको छ। लामो समयसम्म सुस्त रहेको नेप्से परिसूचक पछिल्लो समयमा बढ्न थालेसँगै शेयरबजारमा दैनिक कारोबार रकम अर्ब नाघ्न थालेको छ। लामो समयको बियरपश्चात अब नेप्सेले बुल ट्रेण्ड समातेका कारण शेयरबजारमा लगानीकर्ताहरुको उपस्थिति बाक्लिँदै गएको एक ब्रोकरले बताए।
उनका अनुसार अन्य क्षेत्रमा आएको मन्दी कारण सो क्षेत्रका लगानीकर्ताहरु पनि शेयर बजारतर्फ मोडिएका हुनाले नेप्सेसँगै कारोबार रकममा सुधार भएको हो।
गत साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने ३ कारोबार दिन ओरालो लागेको थियो। अघिल्लो साता करिब १०० अंक बढेको बजारमा गत साता अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण करेक्सन भएको जानकारहरु बताउँछन्। नेप्से करेक्सन हुँदै अगाडि बढ्नु राम्रो रहेको उनको भनाइ छ। उनका अनुसार नेप्से आगामी दिनमा अझ माथि पुग्नेछ।
गत साता नेप्सेले एक हजार ३१३ विन्दुको प्रतिरोधलाई तोड्न नसकेको देखिएको छ। अघिल्लो साता एक हजार ३१०.२३ विन्दुमा बन्द हुँदा नेप्सेले सो प्रतिरोध बनाएको थियो। गत साता सो प्रतिरोध विन्दुलाई परीक्षण गरी अन्तिम दिन एक हजार २९७.४८ विन्दुमा झरेको छ। यस साताको लागि नेप्सेले सोही विन्दुमा प्रतिरोधको सामना गर्नेछ। यस साता नेप्से ओरालो लागेमा एक हजार २४८.१९ विन्दुमा टेवाको सामना गर्नेछ।
‘फियर एण्ड ग्रीड’ मिटरमा नेप्से गत साता ६९.५८ विन्दुमा रहेको छ। यो अघिल्लो साताको तुलनामा ४.०६ विन्दु कम हो। अघिल्लो साता यस मिटरमा नेप्से ७३.६४ विन्दुमा रहेको थियो।
विस्तृत प्राविधिक विश्लेषण मेरोलगानीको न्यूज लेटरमा
सावधानीः उपलब्ध तथ्याङ्कका आधारमा तयार पारिएको यो प्राविधिक विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले कुनैपनि निर्णय लिनुअघि आफैले विश्लेषण गर्नुपर्नेछ।