ब्रोकर कम्पनीले दिने सेवा भन्दा बैंक तथा वित्तीय संस्थाले दिने कर्जा सहज भएपछि उनीहरू कर्जा बिस्तार गर्न सकेका छैनन् ।
कर्जा बिस्तार गर्नै नसकेपछि उनीहरूले होलसेलमा रकम दिएर उक्त प्रकृतिको कर्जा ब्रोकर कम्पनीलाइ नै जिम्मा दिन केन्द्रीय बैंकसँग आग्रह गर्ने भएका हुन् । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा समेटिने गरी उक्त माग नेपाल स्टक ब्रोकर एसोसिएसनले उठाइरहेकाे छ । माग सम्बोधन भए कर्जा बिस्तार गर्न सजिलो हुने उनीहरूको अपेक्षा छ ।
लघुवित्त कम्पनीहरूले ऋण लिएर कर्जा बिस्तार गर्ने गरेको मोडल अनुसार नै होलसेलमा रकम दिइयोस् भन्ने उनीहरूको माग हो । त्यसरी दिए सजिलै कर्जा वितरण गर्न सकिने र लक्षित वर्गसम्म उक्त सुविधा पुग्ने ब्रोकर कम्पनीहरूको भनाई छ ।
उनीहरू भन्छन्, अहिलेकाे मार्जिन प्रकृतिको ऋण दिने कार्यविधि अनुसार भने कर्जा प्रवाहनै गर्न सकिँदैन। ब्रोकर कम्पनीले दिने कर्जा र बैंक तथा वित्तीय संस्थाले दिने कर्जा सुविधामा असमानता भएकै कारणले उनीहरूले कर्जा दिन नसकेको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाले ६५ प्रतिशत शेयर धितो राखेर कर्जा दिन्छन् । तर त्यही ऋण ब्रोकर कम्पनीबाट लिँदा लगानीकर्ताले ५० प्रतिशत मात्रै पाउँछन् । बैंकबाट ऋण लिएको रकम धेरै कम्पनीमा जतिपनि लगानी गर्न सकिन्छ। तर ब्रोकर कम्पनीबाट लिएको कर्जा एक कम्पनीमा १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ भने नेपाल स्टक एक्सचेन्जले तोकेको कम्पनीमा मात्रै लगानी गर्नु पर्ने बाध्यता छ । सोही कारण ब्रोकर कम्पनीले ऋण बिस्तार गर्न नसकेको ब्रोकर कम्पनीहरूको तर्क छ । यसकालागि कार्यविधि नै संशाेधन गर्नु पर्ने उनीहरूको माग छ ।
ब्राेकरहरूले ऋण नगएर लगानीकर्ताले लाभ लिन नसकेपछि उक्त सेवा नै निष्क्रिय भएकाेले राष्ट्र बैंकलाई अनुरोध गर्न लागिएको बताएका छन् ।