पर्यटन आगमन बढ्न नसक्दा ठुला होटलहरुको नाफामा गिरावट, शेयर मूल्य घट्दै

Feb 18, 2020 01:32 PM Merolagani

रविन पौडेल।

पर्यटन वर्षमै ठुला होटलहरुको व्यापार साँघुरिएपछि उनीहरूको नाफा २० प्रतिशतले घटेको छ। सूचिकृत होटलहरूको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार नाफामा २० प्रतिशतले कमी देखिएको हो।

 सूचिकृत कम्पनी मात्रै होइन सूचिकृत नभएका होटेलहरुको आम्दानी समेत घट्न थालेको छ। 'सबै होटेलहरुको आम्दानी घट्न थालेको छ' होटेल एसोसिएसन नेपाल (हान) का वरिष्ठ महासचिव विनायक शाहले भने।  

पर्यटन वर्ष सुरु भइसक्दा समेत होटलहरुमा बस्ने पर्यटकको आगमन बढेको छैन। विगतको भन्दा कम पर्यटक नेपाल भित्रिरहेको शाहको भनाइ छ। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक औपचारिक रूपमा नेपाल भित्रिएको तथ्याँक छ। २०२० लागे यता त्यो अनुपातमा पर्यटक आगमन छैन।

गत वर्ष नै पर्यटक आगमनको अनुपात बढेको थिएन। जसले नाफामा समेत प्रभाव पार्यो। इनफरमल इकोनमिले अझै होटेल व्यवसायमा दबाब परेको शाहको भनाई छ। होटेल सङ्ख्या बढ्दै गएको तर होटेल बढे अनुसार पर्यटन आगमन नभएको, त्यसमा पनि राजस्व नतिर्नेहरुको बाहुल्यता बढ्दै गएको छ। होम स्टे र साना राजस्व नतिर्ने होटेलहरुसँग राजस्व तिर्ने होटेलहरुले प्रतिस्पर्धा गर्नु परेपछि होटेल व्यवसाय सुस्ताएको शाहले बताए।

राज्यसँग राजस्व तिर्नेको मात्रै तथ्याँक हुन्छ। नतिर्नेलाई राज्यले चिन्दैन । राज्यले नै नचिनेकासँग प्रतिस्पर्धा गर्नु पर्दा व्यवसायी नै हतोत्साहि हुन थालेको शाहको भनाई छ। इनफरमल व्यवसायीलाई जबसम्म राज्यले करको दायरामा ल्यउदैन होटेल व्यवसाय थप धरापमा पर्दै जाने शाहले बताए।

पछिल्लो समय कोरोना भाइरसले समेत होटेल व्यवसायमा धक्का पुर्‍याएको छ। नेपालमा पर्यटन आगमनमा चिनियाँको भूमिका दोस्रो नम्बरमा पर्ने गर्छ। दैनिक १० हजार बढी चिनियाँ नेपाल आउने गरेको तथ्याँकमा देखिन्छ। तर यो गएको दुई महिना देखि ठप्प प्राय छ। चीन सरकारले भ्रमण वर्षलाई खुलेरै सहयोग गर्ने बताएको छ। तर यही बेला भाइरसले प्रभाव पार्‍यो। यसले भ्रमण बर्षलाइ नै धक्का पुर्‍याउने अनुमान शाहको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन वटै होटलहरुको नाफा गत वर्षको यसै अवधिको तुलनामा घट्दो क्रममा देखिएको छ। राष्ट्र बैकले सार्वजनिक गरेको ६ महिनाको रिपोर्ट अनुसार २०१८ को तुलनामा २०१९ मा पर्यटन आगमन २४ हजारले बढेको छ। तर पर्यटक आगमनमा थोरै वृद्धि भए पनि नयाँ तारे होटलहरु खुलेअनुसार पर्यटन आगमन बढ्न नसक्दा होटलहरुको नाफा घटेको सोल्टी होटेलका कम्पनी सचिव लिलबहादुर श्रेष्ठले बताए।

उनका अनुसार होटलहरुको मुख्य आम्दानी भनेकै कोठाहरूबाट हुने हो। धेरै होटलहरु खुल्दा कोठाहरू बढी भए र सोही अनुसारको पर्यटन आगमन नहुँदा अधिकांश होटेलका कोठाहरू खालि नै रहेका कारण आम्दानी घटेको छ। आम्दानी घटेकै कारण सबै होटलहरुको नाफा घटेको हो।

कोरोना भाइरसको असरका कारण आगामी त्रैमासमा होटलहरुको नाफा अझै घट्न सक्ने उनले बताए। पछिल्लो समय पाँचतारे होटलहरु खुल्ने क्रम बढ्दो छ। 'आउँदै गरेका तथा आइसकेका गरी १८ वटा तारे होटेल रहेकोमा सो अनुसारको पर्यटन बढाउन नसके आगामी दिनमा होटलहरुलाई नाफा बढाउन मुस्किल छ' श्रेष्ठले भने।

गत वर्षको तुलनामा सोल्टी होटेलको २३.५६ प्रतिशतले, आरियन्टल होटेलको २४.३२ प्रतिशतले र तारागाँउ रिजेन्सीको १३ प्रतिशतले नाफामा घटेको छ।

यस अवधिमा तारागाँग रिजेन्सी होटेलले सबैभन्दा धेरै १७ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ भने सोल्टी होटेलले ११ करोड ५९ लाख र खोरियन्टल होटेलले १० करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। समग्रमा दोस्रो त्रैमाससम्ममा ३ वटा होटेलले साढे ३९ करोड रुपैयाँ नाफा कमाएका छन्।

यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै साढे १० करोड रुपैयाँले कम हो। गत वर्ष दोस्रो त्रैमासमा होटलहरुले ४९ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए।

नाफा घटेसँगै तिन वटै होटलहरुको प्रति शेयर आम्दानी र इक्वीटीमा प्रतिफल दर पनि घटेको छ। गत वर्षको पुस मसान्तमा औसतमा १७ रुपैयाँ रहेको प्रति शेयर आम्दानी घटेर १३ रुपैयाँ ३१ पैसामा झरेको छ।

तारागाउँ रिजेन्सी होटल्सको नाफा भने गत जुनमा भएको श्रमिक आन्दोलनका कारण प्रभावित भएको हो। श्रमिकहरूले गरेको हडतालको कारणले बुकिङहरू रद्द गर्नु परेकाले व्यापारमा ह्रास आएको होटेलले जनाएको छ।

होटलहरुले पर्यटन वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आकर्षण गर्न विभिन्न उपायहरू अपनाए पनि नाफा भने बढाउन सकेका छैनन्। होटेलमा रात बिताउन आउने पर्यटकको कमीले तारे होटलहरुले अधिकांश कोठाहरू खालि नै राख्नु परेपछि नाफा बढाउन नसकेका हुन्। होटलहरुको व्यापार व्यवसाय मात्रै हैन दोस्रो बजारमा शेयर मूल्य समेत बढ्न सकेको छैन।

सरकारले पर्यटन वर्षमा २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ अघि बढे पनि पछिल्लो समय कारोना भाइरसको असरका कारण उक्त लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।