सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटाउँदा नाडेपको नाफामा उल्लेख्य सुधार

Feb 18, 2020 08:17 AM Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटाएका कारण खुद नाफामा उल्लेख्य सुधार भएको देखिन्छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२३.७१ प्रतिशत अर्थात १ करोड ७६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको रकम घटाएका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३ लाख रुपैयाँ अर्थात १७ प्रतिशत बढेर १४ करोड ८० हजार पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २ करोड ७८ लाख रुपैयाँ अर्थात १३९.१६ प्रतिशत बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ३३ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा जम्मा १ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा उल्लेख्य बढेको हो।

पुस मसान्तसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप र २ अर्ब ४९ करोड रुपैयाँ सापटीबाट ४ अर्ब १४ करोड कर्जा परिचालन गरेको यस राष्ट्रियस्तरको लघुवित्तको निष्क्रिय कर्जा भने गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.४५ प्रतिशतविन्दु बढेर ४.७९ प्रतिशत पुगेको छ।

३६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.१० गुणा रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।