चालु आर्थिक वर्षको सात महिनामा जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर लगातार अघि रहेका छन्। यस अवधिमा नेपाल लाइफले १६ अर्ब ११ करोड र शिखर इन्स्योरेन्सले २ अर्ब १ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन्।
नेपाल लाइफ एक्लैको ३४ प्रतिशत योगदान
बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट ५४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ।
जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले १६ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा अन्तरगत संकलन भएको कुल बीमा शुल्कको ३४.३६ हो। एलआईसी नेपालले पनि १८.८५ प्रतिशत अर्थात ८अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
यस्तै राष्टिय बीमा संस्थानले ६ अर्ब १८ करोड, नेशनल लाइफले ४ अर्ब ६० करोड, एशियन लाइफले २ अर्ब ६५ करोड, सुर्या लाइफले १ अर्ब ९१ करोड, मेट लाइफले १ अर्ब ७२ करोड, प्राइम लाइफले १ अर्ब ६९ करोड र गुराँस लाइफले १ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
नयाँ संचालनमा आएका युनियन लाइफले भने पुराना कम्पनीहरुलाई समेत उछिनेर २ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। युनियन लाइफले एशियन, सूर्या, प्राइम, र गुराँस लाइफलाई कुल बीमाशुल्क आर्जनमा उछिनेको हो।
यस्तै, रिलायबल लाइफ नेपालले पनि गुराँस लाइफलाई उछिनदै १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ।
निर्जीवनतर्फ करिब १६ अर्ब बीमा शुल्क संकलन
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्ममा १५ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमाशुल्क आर्जन गरेको हो।
समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो निर्जीवन बीमा कम्पनीहरुबाट संकलन भएको कुल बीमाशुल्कको १४.५३ प्रतिशत हो।
यस्तै, सगरमाथाले १ अर्ब ४३ करोड, नेकोले १ अर्ब ३३ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब २३ करोड, प्रिमियरले १ अर्ब ११ करोड र एनएलजीले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ। बाँकी कुनैपनि बीमा कम्पनीको कुल बीमाशुल्क अर्ब नाघ्न सकेको छैन्।
नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले ४२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्सको भन्दा ७ करोड रुपैयाँ बढी हो।
यस्तै जनरल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले २१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ।