शेयर सूचक र कारोबार रकम बढ्दै जाँदा लगानीकर्ता, नेपाल स्टक एक्सचेन्ज(नेप्से), नेपाल धितोपत्र बोर्ड, राजस्व विभाग र सरकार सबै मालामाल भएका छन्। गएको दुई वर्षदेखि घटेको कमाइ, गएको दुई महिनामै कारोबार अचाक्ली बढेपछि उनीहरूको आम्दानी मनग्गे बढेको हो।उनीहरूले झन्डै दुई महिनामै अघिल्लो वर्षभरिमा गरेको आम्दानी बराबर कमाई गरेका छन्। घाटमा गएका ब्रोकर कम्पनी दुई महिनाको कारोबारमै उकासिएका छन्।
गत पुस १६ गते देखि फागुन १८ सम्ममा ६७ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। आइतबारसम्म सूचक ४२१.८६ अङ्कले बढेको थियो। ११६९.६९ अंकमा रहेको सूचक आइतबार १५९१.३६ अंकमा उक्लिएको थियो।
यो अवधिमा सबैभन्दा बढी लगानीकर्ताले कमाएका छन्। औसतमा उनीहरूको आम्दानी ६ अर्ब ३६ करोड रुपैयाँ छ। लगानीकर्ताले नाफामा मात्रै पूँजीगत लाभकर तिर्नुपर्छ। संस्थागत लगानीकर्ताले साढे सात प्रतिशत र व्यक्तिगत लगानीकर्ताले पाँच प्रतिशत लाभकर तिर्ने गरेका छन्। यही लाभकरलाई औसतमा गणना गर्दा लगानीकर्ताले ६ अर्ब ३६ करोड रुपैयाँ कमाएका हुन्।
उक्त अवधिमा कमाउनेहरुको सूचिमा ब्रोकर कम्पनीहरू दोस्रो स्थानमा छन्। उनीहरूको कमाइ ७३ करोड रुपैयाँ छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार पूँजीगत लाभकर स्वरूप सरकारले ४२ करोड, नेप्से १४ करोड, राजस्व कार्यालयले अग्रिम कर स्वरूप ८ करोड ८० लाख र धितोपत्र बोर्डले दुई करोड रुपैयाँ आम्दानी गरेका छन्।
गत वर्ष सरकारले वर्षभरिमा ६४ करोड १३ लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो। अघिल्लो वर्ष ५१ करोड २६ लाख लाभकर उठेको थियो। तर गएको दुई महिनामै सरकारले ४२ करोड रुपैयाँ पूँजीगत लाभकर उठाईसकेको छ। कारोबार रकम बढ्दै गएपछि सरोकारवालाको कमाइ बढेको हो। चालु आर्थिक वर्ष लागेदेखि नै घटेको बजार र कारोबार रकमले लगानीकर्तासँगै सबै सरोकारवालाको आम्दानी प्रभावित भएको थियो। तर पछिल्लो समयको वृद्धिले उनीहरूलाई नाफामा लैजाने निश्चित देखिएको छ।
नेप्सेको कमाइ ह्वात्तै बढेको छ। गत वर्ष उसले धितोपत्र कारोबारबाट २७ करोड ४६ लाख आम्दानी गरेको थियो भने अघिल्लो वर्ष उसको आम्दानी २४ करोड १९ लाख थियो। नेप्सेले धितोपत्र कमिसनबाट मात्रै गत वर्ष १६ करोड आठ लाख आम्दानी गरेकोमा अघिल्लो वर्ष यस्तो कमिसन १४ करोड १९ लाख रुपैयाँ थियो। गएको दुई महिनामै नेप्सेले १४ करोड रुपैयाँ आम्दानी गरिसकेको छ।
गएको दुई वर्षदेखि घाटामा गएका ब्रोकर कम्पनी समेत ब्रेक इभनमा पुगेको आर्यतारा इन्भेस्टमेन्ट कम्पनीका निर्देशक रामचन्द्र भट्टराईले बताए। 'गएको दुई वर्षदेखि शाखा कार्यालयका कारण हामी घाटामा थियौ। शाखाको समेत खर्च केन्द्रले नै धान्नु परेको थियो। पछिल्लो कारोबारले भने ब्रेक इभनमा पुर्याएको छ' भट्टराईले भने। गत वर्ष शेयर कारोबार घटेका कारण आठ ब्रोक्रर कम्पनी घाटामा गएका थिए। अघिल्लो वर्ष सात ब्रोकर कम्पनी घाटामा थिए।
शेयर कारोबार र सूचक बढ्दा सबैको कमाइ निश्चित रूपमा बढ्छ तर सूचक झर्दा सरकार र लगानीकर्ताको कमाई प्रभावित हुन्छ। किनकि लगानीकर्ताले नाफामा मात्रै कर तिर्नुपर्छ। बजार बढ्दा लगानीकर्ता बढी फाइदामा हुन्छन्। सोही कारण लगानीकर्ता र सरकारको कमाई प्रभावित हुने गरेको हो। राजस्व कार्यालय, नेप्से, ब्रोकर र बोर्डलाई भने बजार घटे वा बढे दुबैमा कमाई हुन्छ। किनकि लगानीकर्ताले शेयर कारोबार गर्दा उनीहरूलाई तिर्नुपर्ने कमिसन दर उही हुन्छ।
लगानीकर्ताले शेयर कारोबार गर्दा ब्रोकर कमिसन स्वरूप ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। धितोपत्र बोर्डको शुल्क ०.०१५ प्रतिशत, पूँजीगत लाभकर व्यक्तिगत पाँच प्रतिशत र संस्थागत साढे सात प्रतिशत र डिम्याट शुल्क स्वरूप प्रतिदिन प्रतिकम्पनी बराबर २५ रुपैयाँ तिर्नुपर्छ। ब्रोकर कम्पनीले लगानीकर्ताबाट उठाएको कमिसनबाट नेप्सेले २० प्रतिशत लैजान पाउने व्यवस्था छ। ब्रोकर कम्पनीले नै अग्रिम करको रूपमा १५ प्रतिशत बुझाउनुपर्छ। तर, उनीहरूले तिरेको अग्रिम कर वर्ष समाप्तिमा मिलान गर्न पाउँछन्। ब्रोकर कम्पनीले ३० प्रतिशत कर तिर्नुपर्छ।