यस्तो परिस्थितिमा उद्योग वाणिज्य माहासंघको तर्फबाट भर्खरै हाम्रो अध्यक्षले ५० लाख रुपैयाँ नगद दिने निर्णय गर्नु भएको छ ।हामी करिब डेढ करोडको रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गर्दै छौ ।
उद्योगमा अहिले धेरै ठूलो समस्या देखिएको छ । देशभर रहेका करिब ३० हजार कारखाना बन्द रहेका छन् ।श्रमिक हरूले काम गर्न मानिरहेका छैनन् ।उनीहरू असाध्यै डराइरहेको अवस्था छ । हो, समय नै डराउनै पर्ने खालको छ । तर अन्य सर्वसाधारणलाई खाद्यान्न लगायत अत्यावश्यक चिजको कमी नहोस् भन्ने हाम्रो प्रयास हो । त्यसैले खाद्यान्न लगायत अत्यावश्यक बस्तु उत्पादन गर्ने कारखाना खोल्ने प्रयास गरिरहेका छौ । त्यसमा पनि आंशिक मात्रै सफलता छ ।
त्यसमा पनि उत्पादन मूलक उद्योगमा श्रमिक आउन छाडेका छन् । खाद्यान्न लगायतका सामाग्री उत्पादन गर्ने कारखानामा उत्पादन कम हुन थालेको छ । एकातर्फ श्रमिक आउन मानिरहेका छैनन् भने अर्को तर्फ कच्चा पदार्थको कमी हुन थालेको छ । भारतबाट आउने कच्चा पदार्थ कम आएको छ । जसले उत्पादन थोरै घटाएको हो । प्रमुख समस्या भनेको खाद्यान्न प्याकिङ गर्ने र्यापर लगायत बोराहरूको कमी हुन थालेको छ । सामान उत्पादन गर्ने तर प्याकिङ गरेर पठाउन सकिएन भने उत्पादन नै खेर जाने स्थिति छ । ती सबै भारत बाटै आउने गरेका थिए । जस्तो सुकै परिस्थितिमा पनि हामीले मूल्य बढाउन दिएका छैनौ । सर्व साधारणलाई साबिककै मूल्यमा सामान दिने प्रयत्नमा आजका दिन सम्म हामी सफल भएका छौ।
अर्को प्रमुख समस्या भनेको चिया उद्योगमा परेको छ । यति बेला चियाको मुना टिप्ने समय हो । यति बेला ती मुनाहरू टिप्न सकिएन भने वर्षभरिकै उत्पादन खेर जाने स्थित छ ।यो उद्योगमा करिब ४० हजार मजदुरले काम गर्ने गरेका छन् । ती सबै घरमै बसेको स्थिति हो । अझै यो समय लम्बियो भने यस वर्षको चिया उत्पादन खेर जान सक्छ । एकातिर उत्पादन खेर जाने स्थिति छ भने अर्को तर्फ चिया टिप्ने मजदुरले काम पाएका छैनन् । उनीहरूको काम बन्द छ । यता उद्योगीले काम बिनै भुक्तानी गर्ने अवस्था छैन । किनकि उद्योगीको उत्पादन नै नहुने स्थित छ । उद्योगी आफै ऋणको मारमा छन् । किनकि उत्पादन नभएपछि उसले ऋण काहा बाट तिर्छ । उता श्रमिक भोकै छन् । उनीहरूको रासनको जिम्मा कसले लिने ? ठूलो समस्या चिया उद्योगमा देखिएको छ ।
फेरि लक डाउनको समय दुई हप्ता लम्बिएको छ । यसले थप समस्या बढ्ने मैले देखिरहेको छु। हामीले त जसोतसो पार लगाउला तर साना तथा मझौला उद्योगलाई बढी समस्या हुने देखिएको छ । अझै बढी दैनिक ज्यालादारिमा काम गर्नेलाई निकै ठूलो समस्या परेको मैले देखिरहेको छु । यातायात बन्द छन् । कल कारखाना बन्द छन् । अब कसरी ऋण तिर्ने,बैङ्कको किस्ता तिर्ने समस्या आफ्नो ठाउँमा छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा छाकै कसरी टार्ने भन्ने पो प्रमुख समस्या भयो ।
त्यसैले हामीले सरकालाई अनुरोध गरेका छौ । राहतको प्याकेज ल्याउँदा तलबाट सुरु गर्नुहोस् । सबैभन्दा पहिले मानिसको जीवन बचाउने, भोक मेटाउने उपाय लगाउनु पर्यो । दैनिक खानै मुस्किल हुनेलाई दैनिक जीवन धान्ने प्याकेज ल्याउनुहोस् । दोस्रोमा साना मझौला उद्योगीका लागि ल्याउनुहोस् । अनि अन्तमा ठूला व्यवसायीलाई सम्बोधन गर्नुहोस् । उद्योग वाणिज्य महासंघ पहिले नै ठूलाकोलागि प्याकेज ल्याउन भनिरहेका छैन । पहिला तल्लो वर्ग अनि मध्यम वर्ग र उच्च वर्गलाई राहत ल्याउनुहोस् भनेर हामीले सरकालाई अनुरोध गरिरहेका छौ ।
राहत प्याकेज ल्याउँदा निम्न विषय नछुटुन् भनेर सुझाव दिएका छौ । केही सम्वाेधन गरिएकाे छ जस्तै ऋण तिर्ने समय थपियोस् । व्याज तिर्ने अवधि लम्ब्याइयोस् । त्यसलाई पूँजीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइयोस् ।चैत्रमा तिर्नु पर्ने कर को किस्ता तिर्ने समय थप गरियोस् ।श्रमिक हरूलाई अनुदानको व्यवस्था गरियोस् ।डिमाण्ड शुल्क नलगाइयोस् भन्ने हाम्रो सुझाव छ ।
यो एक वर्ग समुदायको मात्रै समस्या होइन । यो समस्या राष्ट्रकै समस्या हो । यो महामारीबाट हामी सबै नेपालीले चाँडै पार पाउन सकियोस् । यस्तो बेलामा तल्लो वर्गलाई चाँडै सम्बोधन गरियोस् । यो विषम घडीमा एक नेपाली नागरिकको हैसियतले मैले व्यक्तिगत तर्फ बाट गर्ने सहयोग गर्न म पछि हट्ने छैन । उद्योग वाणिज्य माहासंघ नेपाली जनताकै साथमा रहने प्रतिबद्धता जनाउँछु ।
(उद्याेग वाणिज्य माहासंघका वरिष्ठ उपाध्यक्ष गाेल्छासँग मेरो लगानी डटकमका उप सम्पादक सुवास निरौलाले गरेको कुराकानीमा आधारित)