कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र ई–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रूपमा ई–सेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नहुने जनाएको हो।
विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग इसेवाले बसालेको जनाउदै सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका इसेवाको दाबी छ।
"हामी नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हौं। हाम्रो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा हुन्छ”, इसेवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
कम्पनीले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न आफू अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको बताएको छ। कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्त वेवसाइटमा उल्लेख गरेको र यसको अक्षरशः पालना गरेको कम्पनीले दाबी गरेको छ।
ई–सेवाले विभिन्न अनलाइनमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थालाई अनुरोध पनि गरेको छ।