गत वर्षको तेस्रो त्रैमासमा २४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको वितरणयोग्य नाफा भने ९० लाख ३१ हजार रुपैयाँ मात्र रहेको छ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा र खर्च बढ्दा उसको खुद नाफा घटेको हो। यस अवधिमा बैंकले ८२ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा ७० करोड ९४ लाख रुपयाँ रहेको खुद ब्याज आम्दानी साढे १२ करोड रुपैयाँभन्दा धेरै बढेको हो। बैंकको सञ्चालन नाफा भने ३४ करोड ७२ लाख रुपैयाँबाट घटेर ३२ करोड ३१ लाख रुपैयाँमा झरेको छ।
बैंकको इम्पेरिमेन्ट चार्ज र कर्मचारी खर्च बढेपछि सञ्चालन मुनाफा घट्न पुगेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको निक्षेप चालु आवको चैत मसान्तसम्ममा बढेर २५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १९ अर्ब रुपैयाँबाट बढेर २२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा सामान्य बढेर १.१० प्रतिशत पुगेको छ।
२ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ४९ करोड ४९ लाख रुपैयाँबाट बढेर ७० करोड ८६ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानी पनि केहि घटेको हो। गत वर्षको यसै अवधिमा १२ रुपैयाँ ४४ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर ११ रुपैयाँ ४८ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ।
बैंकको बेस रेट ११.८७ प्रतिशतबाट घटेर ११.२८ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.९८ प्रतिशतबाट ४.८८ प्रतिशतमा झरेको छ।