सरकारले आगामी आर्थिक वर्षमा घुम्ती बीमा अभियान संचालन गरी लघु र कृषि बीमा मार्फत बीमाको पहुँच विस्तार गर्ने घोषणा गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष लघु बीमामा लाग्ने भ्याट छुट दिने घाेषण गरेको छ । बजेटमार्फत लघुबीमालाई मूल्य अभिबृद्धि कर (भ्याट) रहित बनाउने घाेषणा गरेको हाे ।
यस्तै बाली बीमाको बीमाशुल्क पनि बाली पाकेपछि भुक्तानी गर्ने व्यवस्था गरेको छ । हाल कृषि बीमामा कुल बीमाशुल्कको ७५ प्रतिशत अनुदान समेत प्रदान गर्दै आईरहेको छ । किसानलाई बाली बीमा थप सुविधा प्रदान गरेपछि कृषि बीमाको पहुँच विस्तार हुने सरकारको अपेक्षा छ ।
आगामी आर्थिक वर्षमा जीवन बीमालाई उच्च प्राथमिकतामा राखेको छ । हाल २७ प्रतिशत (म्यादी बीमा सहित) मा रहेको बीमाको पहुँच कुल जनसंख्याको ४० प्रतिशतमा पुर्याउने घोषणा गरेको हो ।
यद्यपी बीमा पहुँको विस्तारको लागि बीमा समितिले दिएको सुझाव भने बजेटले संबोधन गरेको छैन् । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाईले बीमा क्षेत्रको पहुँच विस्तारको लागि जीवन बीमा गर्नेहरुका लागि ५० हजार रुपैयाँ सम्म छुटको व्यवस्था गर्न सुझाव दिएका थिए । यस्तै लघुबीमाको बीमाशुल्कमा कृषि बीमामा जस्तै कुल बीमाशुल्कको ७५ प्रतिशत अनुदान दिनु पर्ने सुझाव दिएका थिए ।
करीब ७ लाख सरकारी कर्मचारीलाई निशुल्क कोरोना बीमा
सरकारले कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । सामुहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो । व्यक्तिगत कोरोना बीमामा यो छुटको व्यवस्था गरिएको छैन् ।
सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३०० रुपैयाँमा र ५० हजार रुपैयाँ बीमांकको बीमा १५० रुपैयाँमा गर्न सकिनेछ ।
सबै राष्ट्र सेवक कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने पनि सरकारले घोषण गरेको छ । राष्ट्र सेवकको रुपमा हाल कार्यरत रहेका अस्थायी, करार सहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ ।
यसबाट स्थायी रुपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख कर्मचारीहरुले राहत पाउनेछन् ।
स्वास्थ्य बीमामा बजेट साढे दुई अर्बले बढ्यो
सरकारले आगामी वर्षमा कूल सात लाख बृद्धबद्धालाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निुशल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
हालसम्म तीन लाख बृद्धबृद्धाहरुले निशुल्क स्वास्थ्य बीमाको सुविधा लिएको जनाउँदै अर्थमन्त्री डा. खतिवडाले आगामी वर्ष थप चार लाख गरी सात लाख जनालाई स्वास्थ्य बीमा सुविधा निशुल्क गरिने जनाएका हुन् ।
यस्तै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाख रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
अर्थमन्त्री डा. खतिवडाले तीन वर्षभित्रमा सबै नागरिकमा स्वास्थ्य बीमा पुग्ने गरी बजेट ल्याइएको जानकारी गराए ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा ५ अर्ब रुपैयाँ छुट्टाइएको थियो ।