ब्राेकरबाट जाने मार्जिन कर्जा पूर्णरूपमा असफल,संशोधनको प्रस्ताव बोर्डमै हरायो

Jul 05, 2020 01:55 PM Merolagani

  • रबिन पाैडेल

ब्रोकर कम्पनीले प्रवाह गर्ने मार्जिन ट्रेडिङ कर्जा पूर्ण रुपमा असफल भएको छ। मार्जिन कारोबार सुरु भएको वर्ष दिनमा एउटै ऋण नगएपछि मार्जिन ट्रेडिङ कर्जा फेल भएको हो।

मार्जिन सेवा उपलब्ध गराउन गत आर्थिक वर्षमै ब्रोकर कम्पनीहरूले स्वीकृति पाएका हुन्।कारोबार सुरु गर्न कार्यविधि बनेको समेत लामै समय बितिसकेको छ। निकै लामो समय बितिसक्दा पनि ब्रोकर कम्पनीहरूले मार्जिन कर्जा वितरण गर्न सकेका छैनन्। कर्जा प्रवाह नै हुन नसकेपछि मार्जिन कर्जा पूर्ण रुपमा असफल भएको हो।

हालसम्म २१ ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट अनुमति पाएका छन्। अनुमति पाएका कुनै पनि ब्रोकर कम्पनीले मार्जिन कर्जा भने दिन सकेका छैनन्।

मार्जिन कर्जा प्रवाह गरेको दोस्रो कारोबार दिनको १२ बजेसम्ममा नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ। गत कार्तिक देखि नै मार्जिन कर्जा गएको कुनै सूचना नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।'गत कार्तिक देखि यो सुविधा दिइएको हो। तर अहिलेसम्म कर्जा गएको एउटा पनि जानकारी आएको छैन' पराजुलीले मेरो लगानीसँग भने।

यता ब्रोकर कम्पनीहरूले अहिलेको कार्यविधि अनुसार कर्जा प्रवाह गर्न नसकिने बताउँदै आएका छन्। उनीहरूले मार्जिन कर्जा प्रवाहको लागि कार्यविधि नै संशोधन गर्नुपर्ने माग समेत राख्दै आएका छन्।

  •  किन सफल हुन सकेन ब्रोकर कम्पनीको मार्जिन कारोबार

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा रहेको कतिपय व्यवस्थाहरूकै कारण ब्रोकर कम्पनीको मार्जिन कारोबार असफल भएको हो। ब्रोकर कम्पनीले दिने सेवा भन्दा बैंक तथा वित्तीय संस्थाले दिने कर्जा सहज भएपछि उनीहरू कर्जा बिस्तार गर्न नसकेका हुन् । लगानीकर्ताहरू ब्रोकर कम्पनीभन्दा बैंकबाट कर्जा लिन बढी आकर्षित देखिन्छन्।

कार्यविधिअनुसार ब्रोकर कम्पनीबाट मार्जिन कर्जा लिँदा लगानीकर्ताले ५० प्रतिशत कर्जा पाउँछन् । तर त्यही कर्जा बैंक तथा वित्तीय संस्थाबाट लिँदा ६५ प्रतिशत सिमा पाउँछन्। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम लगानीकर्ताले चाहेको कम्पनीमा जति पनि लगानी गर्न पाउँछन् तर ब्रोकर कम्पनीबाट लिएको ऋणले एउटा कम्पनीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँछन्। त्यसमा पनि नेपाल स्टक एक्चेञ्जले तोकेको कम्पनीहरूमा मात्रै लगानी गर्न पाइन्छ।

कार्यविधि अनुसार कम्तीमा १० हजार शेयर धनी भएको,कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको,पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दस प्रतिशत लाभांश वितरण गरेको,दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा असी प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीमा मात्र लगानी गर्न पाइन्छ।

मार्जिन कारोबार गर्न योग्य कम्पनीहरूको सूची नेप्सेले सार्वजनिक गर्ने छ। हाल सूचिकृत कम्पनी मध्ये ३३ वटा कम्पनीको शेयरमा मात्र मार्जिन ऋण लिन सकिन्छ। साधारण सभा लगायतका मापदण्ड पुरा नगरेका कति बिमा कम्पनी सूचि मै छैनन्।

ब्रोकर कम्पनीले आफ्नै पैसा वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर पनि यस्तो कर्जा प्रवाह गर्न पाउँछन्। तर बैंकबाट ऋण लिएर कर्जा प्रवाह गर्दा ब्याजदर केही महँगो हुनसक्छ।

  • संशोधनको प्रस्ताव बोर्डमै हरायो

ब्रोकर कम्पनीहरूको मार्जिन कारोबार सफल हुन नसकेपछि नेपाल स्टक एक्सचेन्जका कर्मचारी सुरेश जोशीको संयोजकत्वमा मार्जिन कारोबारको अध्ययन गर्न एक समिति नै बनाएको थियो। उक्त समितिले नियामक निकाय धितोपत्र बोर्डलाई सुधार गर्नुपर्ने विषयहरू समेटेर झन्डै पाँच महिना अघि प्रतिवेदन पनि पेस गरी सकेको छ।

उक्त समितिले मुख्य गरी तिनवटा विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव पेस गरेको छ। हाल सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनु पूर्व नै सुरु मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था रहेको छ। समितिले बुझाएको प्रतिवेदनमा ३५ प्रतिशत मात्रै सुरु मार्जिनको रुपमा लिने व्यवस्था गर्नुपर्ने संशोधनको प्रस्ताव पठाएको छ।

त्यस्तै हाल एउटै कम्पनीमा १० प्रतिशतभन्दा धेरै लगानी गर्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी १० प्रतिशतको सीमालाई हटाउनुपर्ने समितिको प्रस्ताव छ।

कार्यविधि अनुसार मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्ने व्यवस्था रहेकोमा समितिले २५ प्रतिशत भन्दा कम भएपछि मात्र मार्जिन कल गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिले उक्त संशोधन प्रस्ताव सहितको प्रतिवेदन गत माघ २८ गते नै धितोपत्र बोर्डलाई पठाएको भए पनि बोर्डले हालसम्म उक्त विषयमा निर्णय गरेको छैन। बोर्डले उक्त प्रतिवेदन अनुसार कार्यविधि संशोधन गरे मार्जिन कारोबारमा केही सहज हुने समितिको अपेक्षा छ।

बोर्डले बजार चलायमान बनाउन भन्दै ल्याएको मार्जिन कारोबार नै विफल हुने भएपछि बोर्ड चिन्तित देखिएको छ। तर अध्ययनले देखाएका कमजोरी र त्यसमा सुधार गर्नु पर्ने विषयमा भने कुनै चासो दिएको छैन। चासो नदिएकै कारण ब्रोकर कम्पनीले दिने मार्जिन कर्जा मृत देखिएको छ। बोर्डले केही नीतिगत सुधार नगरे यो सेवा सधैँकालागि  बन्दै जस्तो हुने छ। मार्जिन सेवा चलाउने या बन्दै गर्ने विषयको निर्णय बोर्डले चाडै गर्नु पर्ने देखिन्छ।   

हाल क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिज, सेक्युर्ड सेक्यूरिटीज, भिजन सेक्युरिटिज कम्पनी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज र दीपशिखा धितोपत्र कारोबार कम्पनी, सुनधारा सेक्युरिटीज, प्रज्ञान सेक्युरिटीज, दिव्य सेक्युरिटीज एण्ड स्टक हाउस, इम्पेरियल सेक्युरिटीज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज, डाइनामिक मनी मेनेजर्स, दक्षिणकाली इन्भेस्टमेन्ट, श्वेता सेक्युरिटीज , सुमेरु सेक्युरिटीज, नासा सेक्युरिटीज, निभ सेक्युरिटीज, सप्रिदी सेक्युरिटीज र अनलाइन सेक्युरिटीजले मार्जिन कारोबारको लागि अनुमति पाएका छन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।