बीमाको दायरा फराकिलो बनाउने गरी वार्षिक कार्ययोजना बनाउँदै बीमा समिति

Jul 06, 2020 12:56 PM Merolagani

अरूण पाख्रेन

बीमा समिति वाषिर्क कार्ययोजना बनाउने तयारीमा जुटेको छ । चालू आर्थिक वर्ष सकिन लागेपछि समितिले आगामी आर्थिक वर्षको कार्ययोजना बनाउन तयारीमा जुटेको हो ।

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलेले आगामी आर्थिक वर्षको बजेटले अघि सारेका योजनाहरु कार्यन्वयन गर्ने गरी कार्ययोजनाहरु तयार भइरहेको मेरो लगानीलाई जानकारी गराए । उनले भने, ‘बजेटमा समेटिएका विषयहरु संबोधन गर्ने गरी कार्ययोजना बन्दैछ । यस्तै हाम्रो नियमित योजनाहरु पनि छन् । बीमालाई कसरी सर्वसुलभ तथा प्रभावकारी बनाउने र दायरालाई कसरी विस्तार गर्ने योजना सहित कार्ययोजना तयार हुँदैछ ।’

आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लघु र कृषि बीमालाई बिशेष जोड दिएका थिए । सरकारले बजेट मार्फत आगामी आर्थिक वर्षमा घुम्ती बीमा अभियान सञ्चालन गरी लघु र कृषि बीमा मार्फत बीमाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।

यस्तै आगामी आर्थिक वर्ष बजेटमार्फत लघुबीमालाई मूल्य अभिबृद्धि कर (भ्याट) रहित बनाउने पनि जनाएको छ ।

बजेटले बाली बीमाको बीमाशुल्क पनि बाली पाकेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको छ । किसानलाई बाली बीमा थप सुविधा प्रदान गरेपछि कृषि बीमाको पहुँच विस्तार हुने सरकारको अपेक्षा छ ।

यस्तै हाल २७ प्रतिशत (म्यादी बीमा सहित) रहेको बीमाको पहुँच कुल जनसंख्याको ४० प्रतिशतमा पुर्याउने सरकारले घोषणा गरेको छ । त्यस अनुसार समितिले बीमाको दायरा विस्तार गर्न कार्ययोजना तयार गरिरहेकाे कार्यकारी निर्देशक पौडेलले जानकारी गराए ।

सरकारले घोषण गरेको सामुहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने र सबै राष्ट्र सेवक कर्मचारीहरूको निशुल्क कोरोना बीमा गर्ने योजना पनि कार्यान्वयन गर्ने गरी वार्षिक कार्ययोजना बनाउने तयारी समितिको छ । 

 बीमकं संघका महासचिव चंकी क्षेत्रीले बीमा समितिको कार्ययोजनामा मार्केट विस्तारमा टेवा पुग्ने गरी सुझाव दिने बताए । उनले भने, ‘हामीले निर्जीवन बीमाको दायर विस्तार हुनेगरी सुझाव दिन्छौ । त्यस्तै सरकारले स्वास्थ्य बीमा र कृषि क्षेत्रमा जोड दिएको छ । हामीले स्वास्थ्य बीमालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गरेर सुझाव दिन्छौ ।’

यस्तै उनले कृषि बीमालाई जोड दिने गरी बीमा समितिले वार्षिक कार्ययोजना तयार पर्नुपर्ने बताए । ‘अहिले कृषि बीमा अन्र्तगत पशुपन्छि बीमा ८० प्रतिशत छ भने बाली तथा फलफुल बीमाको दायरा २० प्रतिशत मात्रै छ।त्यस अनुसार बाली तथा फलफुल बीमामा आकर्षण हुनेगरी जोड दिने कार्ययोजना बन्नु पर्छ,’उनले भने ।

बजेटले बाली बीमाको बीमाशुल्क पनि बाली पाकेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको भन्दै उनले त्यसको व्यवहारिकता बारे छलफल हुनुपर्ने बताए । अहिले सलहले उत्पादन नहुदै बाली सखाप भएको छ । यस्तो अवस्थामा किसानहरूले कसरी बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ? त्यसको विषयमा ठोस निर्णय हुनुपर्छ । 

यस्तै जीवन बीमक संघको अध्यक्ष शिवनाथ पाण्डेले बीमा समितिले लिखित रुपमा सुझाव अहिले सम्म नमागेको बताए । उनले भने ‘हामी नयाँ भएकोले पनि होला लिखित रुपमा सुझाव नमाग्नु भएको हाेला । तर हामी संघमा छलफल गरेर समितिलाई सुझाव पेश गर्छौ ।’

यद्यपी बीमा क्षेत्रको चुनौती र संभावनाबारे छलफल गरेर बीमा क्षेत्रको विकास र विस्तारको लागि टेवा पुग्ने गरी सुझाव पेश गर्ने उनले बताए ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।