प्लाण्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सलह सूचना केन्द्रका अनुसार उक्त सलहका झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा नेपाल प्रवेश गर्ने संभावना रहेकाे छ ।यसैगरी सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपाल भित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्न केन्द्रले आग्रह गरेको हो ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका प्राय भुभागमा आइतबार वर्षा हुने संभावना रहेको छ । पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि सलह नेपाल प्रवेश गर्ने आंकलन गरिएको हो ।
हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको देखिएकाे केन्द्रले जनाएकाे छ। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा , महोत्तरी र सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरुपनि दक्षिण पश्चिमी वायुसंगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान पनि केन्द्रले गरेकाे छ ।