अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको यस फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैर सञ्चालन आम्दानी उल्लेख्य बढेपछि फाइनान्सको नाफामा उल्लेख्य सुधार देखिएको हो।
असार मसान्तसम्ममा ५ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको यस फाइनान्सले सो अवधिसम्ममा ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। फाइनान्सको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १७ लाख रुपैयाँ बढी हो। अघिल्लो आवको असार मसान्तसम्ममा फाइनान्सले ४ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरी ३५ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ९ करोड ३२ लाख रुपैयाँ बढेर १९ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फाइनान्सको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा केही बढेको हो। त्यसैगरी, गत आर्थिक वर्षमा फाइनान्सले २० करोड ४२ लाख रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ। जसले गर्दा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि खुद नाफा उल्लेख्य बढेको हो। असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ८१ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २७ करोड ६० लाख रुपैयाँ र शेयरधनी कोषमा ११ करोड ९८ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा फाइनान्सको चुक्ता पूँजी ८० करोड ४० लाख, जगेडा कोष १२ करोड ९३ लाख र शेयरधनी कोषमा ९ करोड २४ लाख रुपैयाँ रहेको थियो।
खुद नाफामा उल्लेख्य सुधार भएसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ९ रुपैयाँ ५२ पैसा रहेको फाइनान्सको यस्तो आम्दानी गत आर्थिक वर्षमा २४ रुपैयाँ ८२ पैसा बढेर २४ रुपैयाँ ३४ पैसा पुगेको छ। फाइनान्सको मूल्य आम्दानी अनुपात ८.९७ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा कायम भएको छ।