केही वर्षदेखि वार्षिक पाँच हजारको दरले बढिरहेको नयाँ कम्पनी दर्ता दर गतवर्ष एक्कासी ओरालो लागेको छ। समग्रमा गत वर्ष १८ हजार नयाँ कम्पनी दर्ता भएका छन्। जबकि अघिल्लो वर्ष २५ हजार नयाँ कम्पनी दर्ता भएका थिए। यो अघिल्लो वर्षको तुलनामा करीव सात हजारले कम हो।
कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा हालसम्मकै सर्वाधिक कम्पनी नेपालमा दर्ता भएका थिए। जुन २५ हजारको हाराहारीमा थियो। तर,गत वर्ष यो दर स्वाट्टै घटेको छ। मुलुकमा देखिएको कोरोनाको प्रभाव र त्यसबाट उत्पन्न भएको समस्याले नयाँ कम्पनी दर्ता वृद्धि दरमा एक्कासी ब्रेक लागेको कम्पनी रजिष्ट्रारकाे कार्यालयले जनाएको छ।
मुलुकले लगानीको वातावरण बनाउने प्रयास गरिरहेको सन्दर्भमा नयाँ कम्पनी दर्ता दर ओरालो लाग्न थालेपछि आउने दिनमा समग्र अर्थतन्त्रको वृद्धि दरमै धक्का लाग्ने देखिएको छ। अर्थतन्त्रको वृद्धिमा प्रत्येक वर्ष नयाँ कम्पनीको भूमिका बढी हुने गर्छ। जति नयाँ कम्पनी थपिँदै जान्छन् ती कम्पनीले अर्थतन्त्रको आकार समेत बढाउँदै लैजाने गर्छन्। तर,कम्पनी दर्ता नै ओरालो लागेपछि त्यसको प्रभाव मुलुकको अर्थतन्त्रमा सोझै पर्न जान्छ।
नयाँ कम्पनी दर्ता क्रम घटेको छ तर दर्ता भएका कम्पनीमा रियल स्टेट कम्पनीको प्रभुत्व बढी देखिएको छ। नेपालमा उत्पादनमूलक कम्पनी भन्दा भवन निर्माणका कम्पनीको दर्ता बढी हुने गरेको छ। कम्पनी रजिष्ट्रार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार उत्पादनमूलक कम्पनी र रियल स्टेट कम्पनीको दर्ता बढी छ।
आर्थिक वर्ष २०६८/६९ मा रियल स्टेटको कारोबार गर्ने कम्पनीको वर्चस्व बढी रहेको थियो। त्यस वर्ष ती कम्पनीको दर्ता २४ सय को हाराहारीमा भएको थियो। जबकि उत्पादनमूलक कम्पनीको दर्ता त्यस वर्ष नौ सयको हाराहारीमा मात्रै रहेको थियो। त्यसपछि बिस्तारै सुस्ताएको रियल सेक्टर तीन वर्षसम्म उत्पादन मुलुक कम्पनीकै सेरोफेरोमा रहेको थियो। आर्थिक वर्ष २०७०/७१ देखि ७३/७४ सम्म एक हजारदेखि दुई हजारको हाराहारीमा दर्ता भएका थिए।
तर,आर्थिक वर्ष २०७३/७४ देखि उकालो लागेको रियल स्टेटको दर्ता गत वर्षसम्म नै कायम छ। गत वर्ष मात्रै रियल सेक्टरका पाँच हजार नयाँ कम्पनी दर्ता भएका थिए भने उत्पादनमूलक कम्पनीको दर्ता दोस्रो स्थानमा रहेको थियो। गत वर्ष ४ हजार २०० उत्पादनमूलक कम्पनी दर्ता भएका हुन्।
नेपालमा सबैभन्दा बढी रियल सेक्टरका कम्पनी रहेका छन्। हालसम्म ४९ हजार आठ सय ३३ कम्पनी दर्ता भईसकेका छन्। दोस्रो स्थानमा उत्पादनमूलक कम्पनीहरू रहेका छन्। तिनकाे संख्या ३४ हजार तीन सय सात रहेको छ। तेस्रो स्थानमा शिक्षासँग सम्बन्धित कम्पनी छन्। जसको संख्या २३ हजार आठ सय ५७ रहेको छ।
अघिल्लो वर्षको कुल गार्हस्थ्य उत्पादनमा रियल स्टेटकाे योगदान ११.८५ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको थियो। यस क्षेत्र अन्तर्गत घर परिवारले उपभोग गरेको आफ्नै आवासीय सेवालाई समेत गणना गरिने हुँदा गत वर्ष यसको वृद्धिदर ३.२५ प्रतिशत हुने अनुमान गरिएको छ।
अघिल्लो वर्षको कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान ५.०९ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको थियो। गत वर्ष यसको वृद्धिदर २.२७ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको छ। सोही कारण यसको नयाँ कम्पनी दर्तामै प्रभाव परेको हो।
रियल स्टेटभन्दा उद्योग क्षेत्रले बढी योगदान दिनु मुलुकको लागि फाइदा हुन्छ। यसले व्यापार घाटा कम गर्न र रोजगारी सिर्जना गर्न टेवा पुर्याउछ। राज्यले कम्पनी दर्ता र यसको ट्रेन्ड विश्लेषण गर्न जरुरी देखिन्छ। मुलुकमा कस्तो व्यापार बढी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् र आगामी दिनमा राज्यले लिएको लक्ष्यमा यसले कत्तिको सघाउ पुर्याउदैछ त्यसको विश्लेषण हुन जरुरी छ। राज्यले देखेको बाटो र लगानीकर्ताले लगानी गरिरहेको क्षेत्रको सही विश्लेषण बिना मुलुकले आर्थिक वृद्धिको लक्ष्य भेटाउन मुस्किल हुनेछ।