सो समस्या कारण लगानीकर्ताहरुले खरिद बिक्री आदेश प्रविष्ट गर्न नमिल्ने, प्रविष्ट गरेपनि अर्डर बुकमा नदेखिने, राखेको आदेश रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। यस्तो समस्या देखिएपछि नेप्सेले कारोबार नै रोक्का गरेको थियो। त्यसपछि नेप्सेले समस्या समाधान गरी २ः१५ देखि ५ बजेसम्म कारोबार खुल्ला गरेको हो।
बिहीबार नेप्सेमा १८९ कम्पनीको २९ हजार ४३५ पटकको कारोबारमा २ अर्ब १७ करोड ६८ हजार रुपैयाँ बराबरको ४२ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन प्रोफिट बुकिङ्गका कारण बजारमा सामान्य करेक्सन भएपनि गत मंगलबारदेखि नेप्से उकालो लाग्न थालेको थियो। समग्र लगानीका क्षेत्रहरु सुस्ताएको बेला, बैंक ब्याजदर पनि न्यून रहेका कारण शेयरबजारमा लगानीकर्ताहरु आकर्षित भएको जानकारहरु बताउँछन्।
यस दिन नेप्से परिसूचक १२.४९ अंक बढेर १५२०.६९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.७१ अंक बढेर ३०१.३८ विन्दुमा पुगेको छ।
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन कारोबारमा आएका १८९ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर र संस्थापक शेयर, रिलायन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक यस दिन बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।