नबिल बैंकले आज (बिहीबार) मात्रै मुद्दती बचतमा ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । अन्य बैंकले पनि नबिल बैंककै सिको गर्दै मुद्दती बचतको ब्याज बढाउने तयारी गरिहेका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरुले मद्दती बचतको ब्याजदर बढाउन थालेका हुन् । कर्जाको माग बढ्न सक्ने सम्भावना देखिएकाले मुद्दती खाताको ब्याज बढाउनु परेको बैंकहरुको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण बढी रहेका बेला नबिल बैंकले ‘अष्ठयारो बेला ढुक्क बनाउन हामी छौं साथमा’ भन्ने स्लोगन सहित मुद्दती बचतको ब्याजदर ९ प्रतिशत दिन लागेको हो । कम्तिमा १३ महिनादेखि २४ महिनासम्म अवधिका लागि ल्याएको यस्तो मुद्दती निक्षेपमा अरु बैंकभन्दा नबिल बैंकको ब्याजदर आकर्षक देखिएको छ ।
कोरोना भाइरसको संक्रमणअघि बैंकहरुले मुद्दती खातामा ९.५० प्रतिशतकै हाराहारी ब्याज दिने गरेका थिए । चैत ११ पछिको लकडाउन र निषेधाज्ञामा बैंकहरुसँग प्रशस्त लगानीयोग्य रकम भएको भन्दै सर्वसाधारणलाई बचतमा कम ब्याज दिन थालेका थिए ।
कोरोना भाइरसको संक्रमणपछि निश्चित अवधि तोकिएर जम्मा गरिएको मुद्दती निक्षेपको ब्याजदर घटेको थियो । गत फागुनमा औसतमा ९.७४ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर घटेर औसतमा ८.७९ प्रतिशतमा झरेको थियो ।
विभिन्न बैंकहरुले त मुद्दती निक्षेपमा ७ प्रतिशतको हाराहारीमा ब्याजदर दिने योजना अघि सारेका थिए । छोटो समयका लागि राखिने कल डिपोजिट खाताको ब्याजदर त औसतमा १.७३ प्रतिशतसम्म ओर्लिएको थियो । जबकि, कोरोना भाइरसको संक्रमण देखिनुअघि अर्थात चैत ११ अघि यस्तो खातामा रकम राख्नेले ४.३२ प्रतिशत ब्याज पाउँथे ।
तर, निषेधाज्ञा खुकुलो भएसँगै पुनः बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाउन थालेका छन् । लगानीका अवसरहरु आउन सक्ने सम्भावना रहेको र अहिले बैंकिङ प्रणालीमा भएको लगानीयोग्य रकमले बढीमा ६ महिना पनि धान्न नसक्ने देखिएपछि बैंकहरुले पुनः मुद्दती निक्षेपको ब्याज बढाएर रकम तान्न थालेका हुन् ।
पछिल्लो समय नबिल बैंकले आकर्षक ब्याजदर दिएर मुद्दती निक्षेप तान्न थालेको हो । मुद्दती निक्षेपमा मात्रै होइन, बचत खातामा समेत आकर्षक ब्याज दिने तयारी बैंकहरुले गर्न थालेका छन् । गत फागुनमा बैंकहरुले बचत खातामा सर्वसाधारणलाई औसतमा ४.७८ प्रतिशत ब्याजदर दिने गरेका थिए । कतिपय बैंकले अघि सारेका विभिन्न नामका बचत खातामा त सर्वसाधारणले ६ प्रतिशतभन्दा माथि समेत ब्याजदर पाउँथे । तर, कोरोना भाइरसको संक्रमणपछि बैंकहरुले वचत खातामा दिने ब्याजदर औसतमा ३.६४ प्रतिशतमा ओर्लिएको थियो । कतिपय बैंकले त २ प्रतिशत हाराहारीमा वचतको ब्याजदर निर्धारण गरेका थिए ।
अधिकांश बैंकको वचत खाताको न्यूनतम ब्याजदर ३ प्रतिशतभन्दा तलसम्म ओर्लिएको थियो । तर, अहिले बचतको ब्याजदर पुनः बढाउने तयारी बैंकले गर्न थालेका छन् । ऋणको माग कम हुन थालेपछि बैंकले मुद्दती र बचत खाताको घटाएका थिए । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले ब्याजदर लगातार घटाएका थिए । जसका कारण बैंकमा रकम जम्मा गर्ने सर्वसाधारणले पाउने ब्याज रकम पनि घटिरहेको थियो । बैंकहरुलाई सस्तो ब्याजदरमा ऋण दिएर ग्राहक तान्नुपर्ने दबाव थियो ।
तर, अहिले परिस्थिति फेरिने सम्भावना देखिएको छ । बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर बढाउने संकेत गरेका छन् । बैंकले कम ब्याज दिन थालेपछि सर्वसाधारणले बढी ब्याज पाइने आशाले सहकारीमा रकम राख्न थालेका थिए । बैंकहरुमा निक्षेपको ब्याजदर घट्दै गएपछि सर्वसाधारण चिन्तित थिए । बैंकमा निक्षेपको ब्याजदर घटेमा सर्वसाधारणले आफूसँग भएको रकम सहकारीमा राख्ने वा भारततिर पलायन गराउने जोखिम बढेको थियो ।
निक्षेपको ब्याज घटाएका कारण बैंकहरुले कर्जाका ब्याज पनि घटाउन बाध्य भएका थिए । बैंकमा राखिने निक्षेपको ब्याजदरसँगै ऋणको ब्याजदर पनि घटेको थियो । गत फागुनमा औसतमा ११.८० प्रतिशत रहेको ऋणको ब्याजदर १०.४७ प्रतिशतमा झरेको थियो । कतिपय बैंकले १० प्रतिशतभन्दा पनि कममा ऋण लगानी गर्न थालेका थिए ।
अहिले पनि वित्तीय प्रणालीमा झण्डै २ खर्बजति लगानीयोग्य पुँजी छ । लगानीको वातावरण सहज हुँदै जाने हो भने उक्त रकम ऋण दिनका लागि ६ महिना पनि नपुग्ने बैंकर बताउँछन् । त्यसैले पनि लामो समयका लागि सर्वसाधारणले राख्ने मुद्दती बचतको ब्याज बढाएर भएपनि बैंकहरुले निक्षेप तानिरहेका छन् ।
भदौको तेस्रो सातासम्ममा वाणिज्य बैंकहरुमा ३४ खर्ब ९१ अर्ब निक्षेप रहेको छ । यसैगरी, उक्त अवधिसम्म बैंकहरुले २८ खर्ब ९७ अर्ब ऋण लगानी गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम जारी छ । त्यसैगरी, ऋण प्रवाह पनि बढदै जाने अपेक्षा गरिएकाले निक्षेपको ब्याजदर पनि बढन थालेका सर्वसाधारणको बुझाइ छ ।
कोरोना भाइरसका कारण ऋण प्रवाहमा कमी आएको थियो । तर, अब आर्थिक क्रियाकलाप बढने र कर्जाको माग बढने अपेक्षा गरिएकाले पनि बैंकहरुले निक्षेपको ब्याज बढाउन थालेका हुन् । बैैंकहरुको पछिल्लो नयाँ योजनाले सर्वसाधारणलाई राहत पुग्ने आशा गरिएको छ ।