कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको कमी एउटा संकट बन्दै गइरहेको छ। योसँगै भारतका राज्यहरुमा अक्सिजन आपूर्तिको अभाव भइरहेको छ र अक्सिजन सिलिण्डरको मूल्य पनि तीव्र रुपमा बढिरहेको छ। अक्सिजनको कमी भएका कारण केही राज्यहरुले आफ्नो राज्यबाट अक्सिजन बाहिर पठाउन छाडेका छन्।
कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेसँगै अक्सिजनको माग तीव्र रुपमा बढ्नु कुनै आश्चर्यको कुरा हाेइन। अल इन्डिया इन्डिष्ट्रियल ग्यासेज म्यानुफ्याक्चर्स एसोसिएशनको तथ्यांक अनुसार, अस्पताल र केयर सेन्टरमा यो महिना प्रतिदिन २ हजार ७०० टन अक्सिजनको खपत भइरहेको छ, जबकि अप्रिल महिनामा ७५० टन मात्र खपत भइरहेको थियो।
अक्सिजन अभाव हुने भएपछि अक्सिजन उत्पादन गरिरहेका राज्यहरू तिनको निकासी रोक्ने प्रयासमा लागेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले ती राज्यहरूलाई त्यसो नगर्न पत्र जारी गरेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले महाराष्ट्रको असिजन सप्लाई रोक्ने निर्णयलाई लिएर उक्त पत्र जारी गरेको थियो। ७ सेप्टेम्बरमा जब महाराष्ट्रले अक्सिजनको आपूर्तिमा रोक लगाएको थियो, तब कर्नाटक र मध्यप्रदेशमा अक्सिजनको कमीको संकट खडा भयो।
योसँगै राज्य सरकारहरुले तत्काल सहयोगको लागि केन्द्रीय सरकारसँग आग्रह समेत गरेका छन्।
सिलिण्डरको मागमा अत्याधिक वृद्धि
कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको संकट देखिदै जाँदा भारतका विभिन्न राज्यहरुमा अक्सिजनको सिलिण्डरको मागमा अत्याधिक वृद्धि भइरहेको छ।
भारतको महाराष्ट्र, गुजरात र उत्तर प्रदेशमा कोरोना संक्रमण उल्लेख्य मात्रामा फैलिएको छ, जहाँ अक्सिजनको माग तीन गुणाभन्दा धेरैले बढेको बताइएको छ। उता पश्चिम बंगालमा अक्सिजनको मागमा चार–पाँच गुणा वृद्धि भएको छ। यसैगरी राजस्थानमा सिलिण्डरको माग एक हजार पाँच सयबाट बढेर ८ हजार–९ हजार प्रतिदिन पुगेको छ।
सबैभन्दा बढी जनघनत्व रहेको उत्तर प्रदेशको राजधानी लखनउमा अक्सिजनको माग पाँच हजार सिलिण्डर पुगेको छ। जबकी सामान्य अवस्थामा एक हजार सिलिण्डर मात्र थियो।
सिलिण्डरको मूल्यमा वृद्धि
मागमा वृद्धि भएसँगै भारतका विभिन्न राज्यहरुमा सिलिण्डरको मूल्यमा पनि वृद्धि भएको छ।
उत्तर प्रदेशमा प्रति सिलिण्डरको मुल्य ५ हजारबाट बढेर १० हजार पुगेको छ भने बिहारमा यसअघि ७ हजारमा पाइने अक्सिजनको मूल्य बढेर प्रतिसिलिण्डर ८ हजार ५ सय पुगेको छ। यस्तै गुजरातमा प्रति सिलिण्डरको मूल्य ६ हजार ५ सयबाट १० हजार पुगेको छ।
केही बिरामीहरुलाई सास फेर्न मद्दतको आवश्यकताः डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, कोभिड–१९ का केही बिरामीहरुलाई सास फेर्न मद्दतको आवश्यकता छ। कतिपय मानिसहरुलाई स्पष्ट रुपमा श्वासप्रश्वासको समस्या देखिदैन तर खतरनाक रुपमा अक्सिजनको स्तर कम भएको पाइन्छ, यस्तो अवस्था जसलाई साइलेन्ट हाइपोक्सिया भनिन्छ। गम्भीर रुपमा बिरामी रोगीहरुको केही अंशका लागि भेन्टिलेटरको आवश्यकता रहन्छ।
भारतमा अक्सिजनको कमीका कारण कोभिड–१९ का बिरामीहरुको मृत्युदर बढ्न सक्ने बताइएको छ। गत हप्ता मात्र मध्य प्रदेश राज्यको एउटा अस्पतालमा ४ जना कोभिड–१९ का बिरामीहरुको अक्सिजनको कमीका कारण मृत्यु भएको खबर सार्वजनिक भएको थियो, यद्यपी त्यहाँका अधिकारीहरुले उक्त कुरालाई अस्वीकार गरेका थिए।
पूरै भारतभर फैलिएका करिब ५०० कारखानाहरुले हावाबाट अक्सिजनलाई शुद्ध पार्दछन्। चिकित्सा उपयोगका लागि अक्सिजन सामान्यतया समग्र आपूर्तिको १५ प्रतिशत हुन्छ। बाँकी औद्योगिक अक्सिजन, जसमा मुख्यतः ब्लास्ट फर्नेसहरु चलाउनका लागि स्टील र अटोमोबाइल उद्योगको आपूर्तिमा जान्छ।
यसैगरी भारतको विभिन्न राज्यका विभिन्न अस्पतालहरुले आफ्ना बिरामीहरुलाई अक्सिजन व्यवस्था गर्नको लागि ठूलो कठिनाइको सामना गर्नुपरेको बताउँदै आएका छन्। एजेन्सीको सहयोगमा